‘पहिलो बलमै छक्का’ हान्दै देवराज घिमिरे !

को हुन् उम्मेदवारी दिँदा नै माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन पाएका ‘अपकमिङ सभामुख’ घिमिरे ?


काठमाडौं – झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य बनेका देवराज घिमिरेले ‘पहिलो बलमै छक्का’ हान्ने तयारीमा छन् । पहिलोपटक प्रतिनिधिसभा सांसद बनेका घिमिरे पहिलो पटक नै सभामुखको नजिक पुगेका छन् ।

उनले मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापाको क्षेत्र नं. २ बाट २८ हजार ७ सय १६ मत ल्याएर प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २६१ मतले पराजित गर्दै पहिलोपटक प्रतिनिधिसभा संसद्मा प्रवेश गरेका अवसर पाएका हुन् ।

ताप्लेजुङको सिकैंचामा २०१३ सालमा जन्मिएका घिमिरे पछिल्लो समय झापाको बिर्तामोड नगरपालिकामा बसोबास गर्दै आएका छन् । स्नातक सम्मको अध्ययन गरेका घिमिरे लामोसमयदेखि नेकपा एमालेको राजनीति गर्दै आएका छन् ।

उनी २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट देवराज नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका हुन् । त्यसपछि २०३२ मा कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए । २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भइ नेकपा एमाले बनेपछि २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिएका थिए ।

त्यस्तै उनी यसभन्दा अगाडी २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज समेत रहेका घिमिरे पार्टीको विभिन्न कमिटी तथा विभागको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । उनले १२ वर्ष भूमिगत राजनीति गरेको र पटकपटक हिरासतमा बसेको इतिहास समेत रहेका व्यक्ति हुन् ।

निर्वाचनमा एमाले दोस्रो ठूलो राजनीतिक दल भए पनि सरकार बनाउने सवालमा बाजी मारेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्रत्यक्ष निगाह’मा सभामुख बन्ने ‘सौभाग्य’ पाउन लागेका घिमिरेको कार्यकाल कस्तो रहने हो, त्यो हेर्न बाँकी नै छ ।

घिमिरेले भर्खरै उम्मेदवारी दिँदा पूर्वसभामुख सुभाष नेम्बाङको प्रस्तावमा सत्ता साझेदारका तीन समर्थकहरुको समर्थन पाएका छन् ।

उनको उम्मेदवारीमा उपप्रधानमन्त्री एवं पार्टी अध्यक्षद्वय रवि लामिछाने र राजेन्द्र लिङ्देनका साथै माओवादी केन्द्रका नेता हितराज पाण्डे समर्थक रहेका छन् । यससँगै उनी सभामुख बन्ने निश्चित प्रायः भएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको संख्या जोड्दा १४४ पुग्छ । यसमा अन्य साना तिना दलहरुको संख्या जोड्नै बाँकी छ । यसरी हेर्दा घिमिरे नेपालको प्रतिनिधिसभाका अपकमिङ सभामुख बन्ने निश्चित भएको छ ।

उता विश्वासको मत दिएको तर प्रतिपक्षीको दाबी नछाडेको नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने अनौपचारिक निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया