नागढुंगामा प्रहरी कुटपिट घटनाः कुट्ने र कुटाइ खाने दुवै प्रहरी जिम्मेवारीमुक्त


काठमाडौं- नागढुंगामा घटेको प्रहरी कुटपिट घटनामा संलग्न दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालका अनुसार घटनामा संलग्न कुटपिट गर्ने निरीक्षक र कुटाइमा परेका जवान दुवैलाई कारबाही गरिएको हो।

 थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षकले थानकोट वृत्तमा कार्यरत एक जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रको व्यवहार र आचरणप्रति प्रश्न उठेको थियो।

प्रहरी निरीक्षकले जवानलाई घुस लिँदै गरेको अवस्थामा भेटेपछि कारबाहीस्वरूप कुटपिट गरेको स्पष्टीकरण दिएका थिए। तर, प्रहरीमाथि प्रहरीकै हात उठेको घटनालाई गम्भीर रुपमा लिँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानबिन सुरु गरेको जनाएको छ।

छानबिन प्रक्रिया अघि बढेसँगै दुवै प्रहरीलाई हाललाई जिम्मेवारीबाट हटाइएको र अनुशासन तथा पेशागत मर्यादा कायम गर्न यस्ता घटनालाई नदोहोरिने गरी व्यवस्थापन गरिने बताइएको छ।

प्रतिक्रिया