बन्दी प्रत्यक्षीकरण रिटमा मिश्र सर्वोच्चमा उपस्थित, हतकडीबिना पेशी


काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराई पुनः प्रहरी हिरासतमा फिर्ता गरिएको छ। बिहीबार सर्वोच्चमा भएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइका क्रममा उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट अदालतमा उपस्थित गराइएको हो।

मिश्रकी पत्नी सरिका कार्कीले बन्दी प्रत्यक्षीकरणको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई अदालतमा पेश गर्न निर्देशन दिएको थियो।

त्यही आदेशअनुसार बिहीबार मिश्रलाई सर्वोच्च अदालतमा पेस गरिएको हो। रिटमाथि अन्तिम सुनुवाइ शुक्रबारका लागि तय गरिएको छ।

यसपटक मिश्रलाई हतकडी नलगाई सर्वोच्च परिसरमा ल्याइएको थियो, भने अघिल्लो पटक तीनकुने घटनासम्बन्धी म्याद थपको लागि जिल्ला अदालत लैजाँदा उनलाई हतकडीसहित उपस्थित गराइएको थियो।

प्रतिक्रिया