


‘गाह्रो छ भनेको थिएँ, धुर्मुस–सुन्तलीले रंगशाला सुरु गरेर धेरै दुःख पाए’

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे प्रतिक्रिया दिएका छन्। उनले रंगशाला सुरु गर्नु अगाडि नै काम “गाह्रो छ” भनेर सुझाव दिए पनि धुर्मुस–सुन्तलीले काम अघि बढाएको र त्यसक्रममा धेरै दुःख पाएको बताएका छन्।
मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुन लागेको ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “मैले त ‘गाह्रो छ बाबुनानु, नथाल है’ भनेको थिएँ। तर उनीहरूले क्रिकेट मैदान सुरु गरे। अहिले धेरै दुःख पाएका छन्। तर माया लाग्छ। त्यो मैदान पनि एक दिन बन्छ, दुःख पनि हट्छ।”
उनका अनुसार यति ठूलो काममा सबैले सुरुमा हौसिएर ‘साथ छ, चन्दा उठाएर बनाउँछौं’ भने पनि पछि सहयोग नगर्न सक्ने अवस्था आउन सक्छ। उनले रंगशालाको निर्माणको आँट सराहनीय भए पनि यस्ता ठूला परियोजनाहरूमा व्यवहारिक कठिनाइहरू हुने बताएका छन्।

