ओली–प्रचण्डः सर्पको डंक न बिच्छिको पुच्छर


-विनोद ढकाल

पुष्पकमल दाहाल प्रचण्डले एउटा सभालाई सम्बोधन गर्दै भने– तैँले त छोराछोरीका लागि मात्र सोचिस् भन्दै हिँड्याछन्। म नपुंसक भइनँ, म निसन्तान भइनँ, के त्यो मेरो दोष हो?’ नेपाली राजनीतिमा यति भद्दा र अभद्र टिप्पणी, भाषण सायदै सुन्न पाइएला। यसै मेसोमा प्रधानमन्त्रीको कुर्सी जस्तो देशको अभिभावकको स्थानमा बसेका केपी शर्मा ओलीले भनेका थिए,‘एउटा बच्चाले खेलौना लियो, अर्को बच्चालाई एकछिन खेल्न दियो तर त्यो खेलौनात मेरै हो भनेर अर्काले दाबी गरिदियो, कस्तो प्रचण्डको डुप्लीकेट परेछ है!’

यी त दुई उदाहरण मात्र हो। ५ पुसयता यीनको भाषण दैनिक जसो सुनिएको छ, छापिएको छ। यो देशका बाहलवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री, जनताले विश्वास गरी विशाल बनाइदिएको नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षको भाषण र भाषाको स्तर मापन आम मानिसले गरेका छन्। सामाजिक सञ्जालदेखि टिकटकसम्म यीनलाई आम मानिसले, आजको पुस्ताले ‘मनोरञ्जन’का रुपमा लिएका छन्। गम्भिर लिएका छैनन्। हाँस्छन्। मजाक उडाउँछन् जनता। यो संघर्षको दुई किनारामा रहेका एकको जीत त होला तर यीनिहरूबाट मार्गदर्शन के लिने? नेताको अर्थ यीनका अहिलेको हर्कतले वर्णन गर्न योग्य छन्? आम मानिसले प्रश्न गर्ने र विचरण नगरी नहुने स्थिति होइन? आजको पुस्ताले के सिक्ने? यहि हो, लोकतन्त्र? यो स्तरको लोकतन्त्रको कुनै अर्थ छ?

स्वार्थ र सत्ताको सम्बन्धका आधारमा बनेको त्यो एकीकरणलाई जनताले अनुमोदन गरिदिनु नै ठूलो कुठाराघात भएको थियो। नेतासँग के सिक्ने? देशको अभिभावकसँग कुन शिक्षालाई ग्रहण गर्ने भन्ने आजको पुस्ताले मूल प्रश्न बनाउन आवश्यक छ। नेता भनेको राजनीति गर्नका लागि मात्र होइन, मुलुकका पुस्तालाई आदर्शको ढाँचा दिन सक्ने हुनुपर्ने हो तर यीनीहरू र यीनका दासत्वलाई स्वीकार गर्ने कार्यकर्ताबाट गतिलो शिक्षा पाइएला? तिनीहरू समाजको तल्लो तहसम्मका निकायमा नेताका रुपमा नै चित्रित छन्। के सिक्ने? यो फोहोरी र घृणित राजनीति देखेर वाक्कल लाग्छ।

अभिभावक भनेको वैज्ञानिक डा. एपीजे अब्दुल कलाम जस्तोलाई रोजनुपर्छ। उनले भनेका छन्– प्रेम गर्नका लागि त यो जीन्दगी पनि कम हुन्छ। थाहा छैन मानिसहरू घृणाका लागि कसरी समय निकाल्छन्?

सर्पको डंक र बिच्छिको पुच्छरमा मात्रै विष हुन्छ तर दुष्ट व्यक्तिको त हरकहिँ विष मात्रै हुन्छ। हो, नेपाली जनताको भविष्यलाई अन्धकारमा पार्ने ओली–प्रचण्डका विविध भाषणमा अहिले गरेका कटाक्ष र आरोप प्रत्यारोपले देशलाई भड्खालोमा त हालेकै छ। यति तुच्छ र तल्लो स्तरमा उत्रिएर गरेका भाषणहरूलाई सार मान्ने हो भने यी दुवै जनताको चरित्र चित्रणमा एउटा उदाहरण पेश गर्छु– यी न सर्पका डंक हुन् न बिच्छिको पुच्छर

मुलुकको विकासको कुरा अब मूल प्रश्न भएन। राजनीतिक थिति र भाषाको प्रमुख मुद्दा बन्ने देखिन्छन् यी विचारका नाममा खोकिने भाषणहरू सुन्दा। अगाडि पट्टि बसेर, उभिएर घृणाका अनेक शव्दहरूले समय खेर फालिरहँदा घरभरी भोलीको भविष्य राखेका मानिसहरू खित्का छाडी छाडी हाँसिरहेका हुन्छन्, ताली पड्काइरहेका हुन्छन्। तिनले घरभित्र छिरेर आफ्नो सन्तानलाई के शिक्षा दिन्छन् होला? उसको भविष्य सुनिश्चित गर्ने फोहोरी राजनीतिको कित्ता–कित्ताको सहभागीतालाई कसरी पुष्टि गर्लान्, सन्तानका अघि?

भो, यो राजनीतिबाट पार कसरी लाग्ने? यो आधा शताब्दिलाई नै निरर्थक बनाउने राजनीति र नेता भनिनेबाट कसरी मुक्ति पाउने होला? यीनको चरित्रको चित्रण कसरी गर्ने होला?

चाणक्य भन्छन्– सर्पको डंक र बिच्छिको पुच्छरमा मात्रै विष हुन्छ तर दुष्ट व्यक्तिको त हरकहिँ विष मात्रै हुन्छ। हो, नेपाली जनताको भविष्यलाई अन्धकारमा पार्ने ओली–प्रचण्डका विविध भाषणमा अहिले गरेका कटाक्ष र आरोप प्रत्यारोपले देशलाई भड्खालोमा त हालेकै छ। यति तुच्छ र तल्लो स्तरमा उत्रिएर गरेका भाषणहरूलाई सार मान्ने हो भने यी दुवै जनताको चरित्र चित्रणमा एउटा उदाहरण पेश गर्छु– यी न सर्पका डंक हुन् न बिच्छिको पुच्छर।

यी त त्यो भन्दा पनि गए गुज्रेका यस्ता अवसरवादी राजनीतिज्ञका रुपमा उदाए की सत्ताका निम्ति मुलुकलाई रतगको खोलामा र संविधानहिनताको अवस्थामा रमाउन थाले, रम्न थाले, झुम्न थाले। अनि, आफ्ना लठैतहरूको प्रयोगमा सोझा साझा जनतालाई कोरोना महामारीको यो बेला हरेक दिन लाखौंको संख्यामा मैदानमा उतारेर रमिता देखाउन थाले। यसले यीनको चरित्रलाई उदाङ्गो पारेको छ तर हामी ताली पिटीरहेका छौं। हामीले त सोच्ने बेला आएको होइन र, कि देश कस्ता दुष्टका हातमा दिएका रहेछौं भनेर?

अब हामीले केही गर्नु छ। नेपाली जन–जनले केही गर्नुछ। हामी कम्युनिस्ट र कांग्रेसको नाममा तल्लो तहसम्म विभक्त छौं। अवसरवादी र चरित्रशुन्यहरूको नीहित स्वार्थ, हाम्रा मतको दुरुपयोग गर्ने प्राधिकार दिइरहेका छौं। अबको देश यसरी चल्दैन, अबको देश चलाउने हो भने हाम्रा केही आदतहरूमा सुधार आउनुपर्ने हुन्छ।

हामी हाम्रो भविष्य परिवर्तन गर्न सक्तैनौं तर हाम्रो एउटा मात्र बानी सुधार्ने हो भने हाम्रो त्यहिँ नयाँ बानीले भविष्य परिवर्तन गरिदिन सक्छ। हामी विचारका नाममा छरेका भ्रमका पुलिन्दामा होइन, व्यवहार र चरित्रका आधारमा एउटा मत लिएर उभिऔं।

पार्टी र हाम्रो अवसर होइन देशको अवसर र भोलीका सन्तानले गाली नगर्ने अवस्था र व्यवस्था चहान्छौं भने मताधिकार प्रयोग गर्ने दिन दुष्टहरूलाई जिताउने आदत बदलौं। एक पटक यो आदत बदलेर हेरौं कतै यहि आदतबाट हाम्रो भविष्य परिवर्तन पो हुने हो की? हाम्रो सन्तानको भविष्य पो राम्रो हुने हो की? हाम्रा आगामी पुस्ताले हामीलाई श्रापको साटो श्रद्धा मात्रै पो दिने हुन् कि? अबको मौकामा हिरा फोरौं, यहि नै अबको विकल्प पनि हो।

प्रतिक्रिया