

‘मानव बेचबिखन अन्त्यका लागि सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रम सम्पन्न

ललितपुर – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ‘मानव बेचबिखन अन्त्यका लागि सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको ललितपुरमा आयोजित उक्त कार्यक्रममा विशेष गरी सञ्चारमाध्यमले मानव बेचबिखन अन्त्यका लागि कस्तो किसिमको भूमिका निर्वाह गरेका छन् वा सञ्चारमाध्यममा कस्तो किसिमको समाचारहरु सम्प्रेषण गरिएको थियो भन्ने बारेमा छलफल भएको थियो ।
उक्त अवसरमा बरिष्ठ पत्रकार विजय पौडेलले २०७८ सालभित्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित मानव बेचबिखनविरुद्धको समाचारहरुका बारेमा विश्लेषण गर्दै नेपालको नीति निर्माण तहले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए । पौडेलले ‘सञ्चारमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी प्रकाशित सामाग्रीहरु, २०७८ को विश्लेषण’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।
पौडेलले १ वर्षमा ८ राष्ट्रिय दैनिक र ३ वटा अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुको बारेमा अध्ययन गरिएको बताए । उक्त अध्ययनअनुसार सबैभन्दा धेरै अर्थात् ६० प्रतिशत १७ वर्षसम्मका बालबालिकाहरु बेचबिखनको जोखिममा परेको तथ्यांक सार्वजनिक गरियो । त्यस्तै अध्ययनमा बागमती प्रदेशमा सबैभन्दा धेरै बेचबिखनका घटना भएको पनि पाइयो । पौडेलले नेपालमा दैनिक २२ वटा घटना बेचबिखनसम्बन्धी घट्ने कहालीलाग्दो तथ्यांकसमेत प्रस्तुत गरे ।
प्रस्तुतीकरण पछि सञ्चारमाध्यमले त्यस किसिमको घटनालाई रोकथाम वा अन्त्यका लागि सञ्चारमाध्यमले निभाउनुपर्ने भूमिकाका साथै सञ्चारमाध्यममा प्रकाशनका लागि दिइने प्राथमिकताका बारेमा छलफल भएको थियो । उक्त छलफलको सहजीकरण बरिष्ठ पत्रकार टंक पन्तले गरेका थिए ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा सञ्चारकर्मी एवं कार्यक्रममा उपस्थितहरुले आगामी दिनमा सञ्चारमाध्यमले र राज्यले गर्नुपर्ने कार्यका बारेमा विभिन्न प्रश्न, सुझाव तथा जिज्ञासाहरुमा समेत छलफल भएको थियो ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)को संयोजकत्वमा सम्पन्न संवाद कार्यक्रम सञ्चालन कार्यकारी निर्देशक बेनुमाया गुरुङले गरेकी थिइन् भने अध्यक्षता अध्यक्ष सीता पौड्यालले गरेकी थिइन् ।

