

फेरियो चाडपर्व मनाउने शैली, ‘भर्चुअल’ माध्यमबाट पनि टीका

दोधारा चाँदनी – पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टीका लगाउने गरिन्छ ।
थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलवहादुर डँगौराले थारु समुदायमा परम्परा अनुसार दसैँको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताए । ‘हाम्रो परम्परा अनुसार दसैँमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ’, उनले भने- ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।’
समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दसैँको बेला मन्दिरमा जाने पूजाजाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशिर्वाद लिने चलन रहे पनि पछिल्लो समय दसैँ केवल खानपिनमा मात्रै सीमित भएको बताए । ‘अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ’, उनले भने – ‘उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपिनमा बढी ध्यान दिने गरिन्छ ।’ अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उनको भनाइ छ ।
अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताए । ‘टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ’, उनले भने-‘इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरु ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुशियाली मनाउने तथा आशीर्वाद लिने गरेका छन् ।’

