

ओली कटाक्ष, प्रचण्ड शैली, पदम कुँवरको थप्पड र रतन तिरुवाको जुत्ता झट्टी

राजनीतिमा जब पद प्रमुख बन्दछ मुद्दाहरू झिना मसिना देखिन्छन्। शक्तिमा पुग्ने तिर्खाले दलीय व्यवस्थामा तोडफोड र जोरजामको खेलमा लागिन्छ, आन्दोलनसहितका पृष्ठभूमीले धिक्कार्छ। मुख्यतः अहिलेको राजनीतिक परिवेशमा पनि पुष्पकमल दाहाल प्रचण्डलाई नै केन्द्रमा राख्नुपर्छ, विग्रहको अवस्थाका निम्ति। दास प्रवित्तिका कार्यकर्ताका लागि यो तितो र कसैका लागि मिठो लाग्न सक्छ। प्रचण्डलाई नेता मान्नेहरूको मन दुख्न सक्छ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वेसर्वा ठान्नेहरूका लागि मिठो लाग्न सक्ला। समग्रतामा नेपाली जनताले तितो महसुस गरेका छन्।
प्रतिनिधि सभा विन भएपछि प्रचण्डको नेतृत्वमा शुक्रबार राजधानीमा विरोध सभाको आयोजना गरिएको छ। तर त्यसअघि प्रचण्डले कार्यकर्ता र युवा विद्यार्थीलाई हिंसात्मक रुपमा प्रस्तुत हुन उक्साएका थिए। हिंसाले अन्त्यमा कहिँ लग्दैन चोट मात्र दिन्छ, त्यसको व्यवस्थापन गर्न कठिन हुन्छ र प्रतिनिधि घटना र आक्रोशका रुपमा आफैंतिर फर्किन्छ भन्ने प्रचण्डले बुझिसकेका छन्।
किर्तिपुरमा पूर्वलडाकु पदम कुँवरले गाला चड्काएको होस् या सभा गृहमा रतन तिरुवाले जुत्ताको झट्टी हानेको होस् यी हिंसात्मक आन्दोलनमा खटिएको विगत, तिनको परिवारको भावना समेटिएको प्रतिनिधि आक्रोश हुन्। त्यसैले पनि प्रचण्ड ६० जना सुरक्षाकर्मीको घेरामा बस्नु परेको छ। नेता भनेको त्रासमा राजनीति होइन, सादा जीवन र आशमा भरिलो व्यवस्थापकीय भूमिकामा रहनुपर्छ। त्यागमा रहनुपर्छ। पक्कै पनि यी प्रतिनिधि घटनाले के देखाउँछ भने प्रचण्डसँग एउटा ठूलो तप्काले उपयोग गरी परिवारवादमा मात्र लागेको हो भन्ने आक्रोश बोकीरहेका छन्। र, यो भावुकता निक्कै खतरनाक परिणाम हुन्छ, राजनीतिमा। उनीहरूसँग आक्रोश मात्र छैन, भावना मात्र छैन उनै प्रचण्डले सिकाएको लडाकू छवि, तालिम र गोली चलाउने कला पनि छ, हेक्कामा राखियोस्।
ओली अहिले प्रचण्डमाथि निक्कै खनिन्छन्। गठबन्धन र सरकार गठनका समयमा प्रधानमन्त्री ओलीले कहिल्यै पनि प्रचण्डमाथि युद्धकालमा साथ दिने लडाकूका विषयमा प्रश्न उठाएनन्। सोधेनन् परिवारवादी चरित्रमाथि प्रश्न। बरु, क्याबिनेटमा बुहारीलाई स्थान दिए। जब विभाजनको अवस्था आयो र प्रचण्ड ज्यानी दुश्मनजस्ता देखिन थालेका छन् नराम्रोसँग खुइल्याउन थालेका छन्।
केही थान प्रचण्डसँगै हिँडेका नेतालाई मन्त्रिमण्डलमा राखेर प्रधानमन्त्रीले जनयुद्धका घाइते, लडाकूको भावनाको प्रतिनिधित्वका हिसाबमा प्रश्न त गरिरहेका छन् तर त्यहाँ यथार्थभन्दा उनको व्यक्तिगत तुस र आवेग छ।
राजनीतिमा यस्ता आवेगहरूको आयु धेरै लामो हुँदैन, यथार्थमा सरकारले तिनको व्यवस्थापनको व्यवाहारिक पाटो अगाडि बढाए मात्र पनि प्रधानमन्त्रीको भनाईको अर्थ हुनेछ। अन्यथा, प्रधानमन्त्री ओलीको नीजि आक्रोशले त्यो भावनालाई प्रतिनिधित्व गर्दैन, जति पदम कुँवरको थप्पड र रतन तिरुवाको जुत्ताले गरेको छ
राजनीतिमा यस्ता आवेगहरूको आयु धेरै लामो हुँदैन, यथार्थमा सरकारले तिनको व्यवस्थापनको व्यवाहारिक पाटो अगाडि बढाए मात्र पनि प्रधानमन्त्रीको भनाईको अर्थ हुनेछ। अन्यथा, प्रधानमन्त्री ओलीको नीजि आक्रोशले त्यो भावनालाई प्रतिनिधित्व गर्दैन, जति पदम कुँवरको थप्पड र रतन तिरुवाको जुत्ताले गरेको छ।
नेपाली कम्युनिस्ट राजनीतिमा बेइमानीका पुत्ला खोज्न कहिँ जानु पर्दैन। स्वार्थको मिलनविन्दुमा उभिएका नालायक पात्रहरूको अनुहारमाथि संश्लेषण गरे पुग्छ। अनुहार नियाँल्नुस्, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, झलनाथ खनालको। यीनको अनुहारमा कम्युनिस्ट भन्ने चरित्रको कुनै आवरण देखिन्छ? संविधान बनाउनका निम्ति संविधानसभा छिरेर प्रधानमन्त्रीको कुर्सी पड्काउने, राजनीतिक बेइमानी गरी अध्यक्ष हुने रहर पाल्ने माधव नेपाल कुन कम्युनिस्ट हुन्? कम्युनिस्ट भनेको त त्यागी र वर्गीय चिन्तक हुन्छ। असली मानेमा चित्रबहादुर केसी कम्युनिस्ट हुन्।
प्रचण्ड प्लान्टेड हुन्। कम्युनिस्टका नाममा भारतीय कांग्रेसले प्लान्ट गरेको मुखौटा भनी नेपाली जनताले भन्नु नै परेको छैन, भारतीय अधिकारीले पुस्तकमा लेख्छन्। ट्वीटरमा खोक्छन्। यदि होइन भने यीनले ति चिजको विरोध गर्न सके? मुलुकलाई द्वन्द्वको घाउ दिएर रमाउने यी कम्युनिस्ट हुन सक्लान्?
अरुले व्याख्या गर्नै पर्दैन माधव नेपाल आफैं भन्छन्– ओलीमा कम्युनिस्ट चरित्र छैन। ४३ बर्षसम्म एउटै पार्टीमा संगत गरेका माधव नेपालले भनेको सही नै होला तर यति लामो सहकार्य किन भयो? आठौं महाधिवेशनमा ओलीलाई अगाडी सारेर तत्कालिन एमालेमा तर मार्न खोज्ने माधव नेपाल होइनन्? ओलीको त कुरै नगरौं, उनले प्रतिनिधि सभा नै भत्काइदिए। कति आलोचना गर्नु? एउटा सिस्टमलाई बीचमै क्र्याक गर्ने पनि कम्युनिस्ट त हुँदै हुँदैन।
झलनाथ खनाल जस्ता व्यक्तिलाई कसैले कम्युनिस्ट भन्यो भने त्यो जति मूर्ख कोही हुँदैन। ६ महिने प्रधानमन्त्रीका लागि गोप्य सहमति गर्ने सत्ताभोगी यी कस्ता कम्युनिस्ट? यीनमा न चिन्तन छ न व्यवाहार नै छ। तर्क समेत राम्रोसँग गर्न सक्तैनन्।
यीनहरू नै भन्छन् नि– रुप र सारको कुरा। वास्तवमा यीनको अनुहारको रुप र यीनको चरित्रको सारमाथि नै सोध्ने हो, प्रश्न। यसैले यीनका अनुहार हेरेर भविष्यको सपना देख्यो भने त्यहि महाभूल हुन्छ। गणेशमानले भने जस्तो– भेडा प्रवित्तिका जनता भइन्छ। र, अहिले भइ पनि रहेको त्यहि नै हो। यसर्थ, समयलाई चिनौं कोही पदम कुँवरहरू या रतन तिरुवाहरूको भावनामा नखेलियोस्, त्यो बिम्बमा आक्रोश पैदा नहोस् त्यो राजनीति अहिले नेपाललाई चाहिएको छ।

