अफगानिस्तानमा तालिवान शासनको एक वर्ष : अर्थतन्त्र तहसनहस, महिलाहरुको स्थिति दयनीय


काबुल – अफगानिस्तानमा तालिवान सत्तामा आएको एक वर्ष पूरा भएको छ । अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमा युद्ध रोकिएको भएपनि अर्थतन्त्र र मानव अधिकारको स्थिति भने निक्कै खस्किएको छ ।

समस्याग्रस्त अफगानिस्तानका ८० प्रतिशत परिवारका बालबालिका भोकै सुत्न बाध्य छन् । एक रिपोर्टअनुसार धेरै बालबालिकाहरु दिनमा एक छाक मात्र खान पाइरहेका छन् ।

परिवारका छोरीहरू छोराको तुलनामा कम खाना पाइरहेछन् । महिलाहरुले विगत २० वर्षमा उपभोग गरेका कयौं अधिकारहरू खोसिएका छन् । शिक्षा, रोजगारी तथा स्वतन्त्र विचरणजस्ता सामान्य अधिकारहरू अब कल्पनाजस्तो लाग्न थालेको छ ।

पाँच लाख पलायन
तालिवानको आगमनपछि अफगानिस्तानको अर्थतन्त्र धरासायी बन्यो । एक वर्षमा देशको बजेटमा ६५ प्रतिशतले र्‍हास आएको छ । तालिवानले एक वर्ष बितिसक्दा पनि बालिका शिक्षाको विषयमा कुनै निर्णय गरेको छैन । छोरीहरूले प्राथमिक तहसम्म मात्रै शिक्षा पाइरहेका छन् । तालिवानको आगमनपछि एक वर्षमा अफगानिस्तानबाट करिब ५ लाख मानिस पलायन भएको संयुक्त राष्ट्रसंघको डर छ ।

महिला पत्रकारलाई कठिन
संयुक्त राष्ट्र संघीय नियोगको एक प्रतिवेदन अनुसार एक वर्षमा २,१०६ को ज्यान गयो । यीमध्ये अधिकांश हत्या काबुल र मजार–ए–शरीफमा भए । अफगानिस्तानमा, विगत एक वर्षमा ८० प्रतिशत महिला पत्रकारले तिनको काम छाडिसके । १७३ पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ भने १२२ पत्रकारहरू गिरफ्तार परे ।

अमेरिकाद्वारा ३.५ अर्ब करोडको कोष रोक्का

अमेरिकाले अफगानिस्तानको करिब ३.५ अर्ब डलरको कोष रोक्का गरेको छ । अफगानिस्तान केन्द्रीय बैंकको यो कोष अमेरिकी फेडरल रिजर्भमा जम्मा गरिएको थियो । तालिवानको मानवअधिकार मामिलामा कमजोर रेकर्डलाई उल्लेख गर्दै अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अल–कायदा अझै पनि सुरक्षा चुनौती
अमेरिकी गुप्तचर एजेन्सी सीआईएले भर्खरै काबुलमा अल–कायदा प्रमुख अल–जवाहिरीलाई ड्रोन आक्रमण गरेर मारिदियो । काबुलमा अमेरिकाले गरेको यो कारबाहीले अल–कायदाको सञ्जाल अफगानिस्तानमा अझै पनि काम गरिरहेको पुष्टि गर्छ ।

हालैको सीआईए प्रतिवेदनले अल–कायदाका गतिविधिहरू ठूलो मात्रामा नियन्त्रित भएको बताउँछ, तर आतंकवाद विरोधी एजेन्सीहरूले जवाहिरीको हत्यापछि सैफ अल–अदेल सक्रिय भएको बताएका छन् । चाँडै सैफले अल–कायदाको कमाण्ड सम्हाल्ने बताइँदैछ । सैफ हाल इरानमा शरण लिइरहेकाले गर्दा अमेरिकी एजेन्सीहरूलाई उनको हत्या गर्न सजिलो हुने छैन ।

तालिबान सरकारले अल–कायदालाई अहिलेको लागि समर्थन बन्द गरेको भए पनि एक–दुई वर्षमा अल–कायदा फेरि बलियो भएर अमेरिकामाथि आक्रमण गर्न सक्ने केही सुरक्षाविदहरुले डर व्यक्त गरेका छन् । अमेरिकाका रिपब्लिकन सांसदहरूले अफगानिस्तानबाट सेना फिर्ती गलत भएको भन्दै जवाहिरी मारिए पनि अल–कायदाको खतरा अझै कायमै रहेको बताए ।

प्रतिक्रिया