अवकाशपत्र बुझेकालाई एआईजी बनाउन राजनीतिक चलखेल !

नीति तथा कार्यक्रमको धज्जी उडाउँदै राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर २ अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) बनाउन प्रचण्डको दबाब


काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागका अवकाश पत्र बुझेका दुई अनुसन्धान निर्देशक (डिआईजी सरह) लाई अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी सरह) मा बढुवा गर्नका लागि राजनीतिक चलखेल सुरु भएको छ ।

एकमात्र दरबन्दी रहेको अतिरिक्त अनुसन्धान निर्देशकमा सुदूरपश्चिमका ओम जोशीलाई बढुवा गर्न चलखेल सुरु भएपछि रोल्पा घर भएका हुतराज थापालाई पनि एआईजी बढुवा गर्नका लागि पूर्व प्रमुख दिलीप रेग्मी र अर्थमन्त्री जनार्दन शर्माले चलखेल सुरु गरेका हुन् ।

उनीहरुले एकमात्र दरबन्दी रहेको अतिरिक्त अनुसन्धान निर्देशक पदमा दरबन्दी थप गर्दै यी दुवैलाई बढुवाको तयारीका लागि चलखेल गरेका हुन् । ५ वर्ष डिआईजी सेवा अवधि पूरा गरी भदौ १३ गते अनिवार्य अवकाश पाउन लागेका दुवै अधिकारीले रेग्मीले माओवादी केन्द्र अध्यक्ष र अन्य राजनीतिक शीर्ष नेतृत्वसँग लबिङ गर्दै बढुवाका लागि चलखेल गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा आगामी संघीय निर्वाचन अगाडि नयाँ दरबन्दीहरु थप नगर्ने तथा भएका दरबन्दीलाई पनि कटौती गर्दै व्यवस्थापन गर्ने भनिए पनि अनुसन्धान विभागमा भने नीति तथा कार्यक्रमको धज्जी उठाउँदै दरबन्दी थप्ने चलखेल भएको हो ।

विभागमा रहेको एकमात्र एआईजी दरबन्दीमा ओएनएम गरेर दरबन्दी थप गर्दै दुईजनालाई एआईजी बनाउने चलखेल सुरु गरिएको हो ।

प्रचण्डले नेतृत्व सुम्पन तयार भएका थापा दोहोरो नागरिकता लिएको विषयमा अख्तियारको छानबिनमा छन् । अहिलेसम्म अख्तियारले त्यसविषयमा अन्तिम टुंगो भने लगाइसकेको छैन । त्यस्तै थापा एसपीका रुपमा भक्तपुरमा रहँदा कार्यालयकै लेटरप्याड प्रयोग गरी बालुवा उत्खनन् गर्नेहरुबाट आर्थिक सहयोग मागेको विषयमा समेत विवादित अधिकृत पनि हुन् ।

अनुसन्धान विभाग स्रोतका अनुसार डिआईजीद्वय थापा र जोशीले राजनीतिक पहुँचको आधारमा दरबन्दी थपेरै भए पनि भदौ २८ गतेपछि विभागको नेतृत्वमा पुग्ने दाउ खोजी रहेका छन् । आगामी भदौ २८ गते वर्तमान मुख्य अनुसन्धान निर्देशक (आईजी) यदुलाल खरेलले अनिवार्य अवकाश पाउने भएका कारण विभागमा त्यसपछि नयाँ नेतृत्व आउनेछ । त्यसका लागि थापा र जोशीले रेग्मी र शर्माको चलखेलका साथ दरबन्दी थप गरेर सेटिङ गर्दै आईजी हुने सुर कसेका हुन् ।

सत्तारुढ गठबन्धनका प्रमुख शक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रेग्मीले विभागमा जसरी पनि दरबन्दी थप गरेर थापाको बढुवा गर्नका लागि सेटिङ गरिरहेका छन् । उनले माओवादी निकट मानिएका थापालाई जसरी भए पनि एआईजीमा बढुवा गरेर आगामी नेतृत्व सुम्पनका लागि प्रचण्डलाई कन्भिन्स गराईसकेका छन् । प्रचण्ड कन्भिन्स भइसकेपछि अहिले प्रधानमन्त्री देउवालाई दाहालले दरबन्दी थप गर्नका लागि दबाब दिएको उच्चस्रोतले दाबी गरेको छ । गठबन्धनबाट नेतृत्व सुम्पेकै भरमा दाहालले देउवालाई हरेक कार्यहरुमा दबाब दिँदै आएका छन् ।

प्रचण्डले नेतृत्व सुम्पन तयार भएका थापा दोहोरो नागरिकता लिएको विषयमा अख्तियारको छानबिनमा छन् । अहिलेसम्म अख्तियारले त्यसविषयमा अन्तिम टुंगो भने लगाइसकेको छैन । त्यस्तै थापा एसपीका रुपमा भक्तपुरमा रहँदा कार्यालयकै लेटरप्याड प्रयोग गरी बालुवा उत्खनन् गर्नेहरुबाट आर्थिक सहयोग मागेको विषयमा समेत विवादित अधिकृत पनि हुन् ।

देशकै सबैभन्दा संवेदनशील मानिएको अनुसन्धान विभागको नेतृत्व ‘आफ्नो मान्छे’लाई सुम्पनका लागि माओवादी अध्यक्ष प्रचण्डले जुनसुकै हतकण्डा अपनाउन सक्ने स्रोतले जनाएको छ । प्रचण्ड र जनार्दनको यस किसिमको चलखेलले अनुसन्धान विभागमा पनि राजनीति हाबी हुन लागेको देखिएको छ ।

उता, सुदूरपश्चिम घर भएका ओम जोशी पनि भदौ १३ मै अवकाश पाउने भएपछि दरबन्दी थप्न देउवा सकारात्मक देखिएको स्रोतले जनाएको छ । भदौ १३ भित्र दरबन्दी थप गरेर थापा र जोशीलाई एआईजीमा बढुवा गरेर भदौ २८ सम्म आईजीको दौडको लागि चलखेलको समय सिर्जना गर्ने लयमा दुवै शीर्ष नेतृत्वबीच मौनसहमति भइसकेको स्रोतले दाबी गरेको छ ।

क्षेत्रियतालाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री देउवाले भने दरबन्दी थप्नु परेमा थप्ने तर नेतृत्वका लागि कम विवादित देखिएका र सुदूरपश्चिमकै जोशीलाई नेतृत्व सुम्पने आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयको मातहतमै रहेको विभागको नेतृत्वमा देउवाले आफ्नो रोजाइको व्यक्तिलाई नेतृत्व सुम्पने कुरामा विवाद नभएको बताउँदै अर्थमन्त्री शर्मा र पूर्व अनुसन्धान निर्देशक रेग्मीले प्रचण्डमार्फत थापाको बढुवाको लागि दबाब दिइरहेको स्रोतले दाबी गरेको छ ।

विभागभित्र राजनीतिक चलखेलका कारण विभिन्न परिघटना सार्वजनिक भएपछि सरकारभित्र भने ३८ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा २ जनामात्र अतिरक्ति प्रहरी महानिरीक्षक (एआईजी) भए पुग्ने तर २ हजार तीन सय दरबन्दी रहेको विभागमा २ एआईजी किन चाहिने भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया