

चार डीआईजी, जो इतिहास रच्दै संगठनको नेतृत्व गर्ने ध्याउन्नमा छन्…

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले आइतबार १७ प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुलाई दर्ज्यानीको चिन्ह लगाइदिए । त्यसपछि प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासनले बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका डिआईजीहरुलाई विभिन्न स्थानमा पदस्थापन गरेको छ ।
बढुवा भएका १७ डिआईजीमध्ये ४ जना महिला रहेका छन् । यसपटक बढुवा भएका डिआईजीमध्येबाटै संगठनको आगामी नेतृत्व छानिने भएकाले संगठनको इतिहासमा पहिलोपटक महिला नेतृत्व आउनसक्ने सम्भावनालाई नजरअन्दाज गर्न भने सकिँदैन ।
दर्ज्यानी चिन्ह लगाइसकेपछि तालुकदार मन्त्री भेट्न गृहमन्त्रालयमा पुगेका डिआईजीहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले उत्कृष्ट कार्यसम्पादनका लागि गरेको अनुरोध एवं निर्देशन सबैका लागि आईजीको ढोका खुल्ला रहेको स्पष्ट अभिव्यक्ति हो । गृहमन्त्री खाँणले उक्त अवसरमा, ‘९ महिनापछि तपाईँहरुमध्येबाटै आईजी बन्ने हो, त्यसैले कार्यसम्पादनमा ध्यान दिनुहोस्’ भन्ने अभिव्यक्ति दिएसँगै अहिलेसम्मको अवस्थामा १७ जनाकै ढोका खुल्ला रहेको छ ।
तर, अबको ९ महिनामा प्रहरीमा नियमावली परिवर्तन गरेर वर्तमान आईजी सिंहको पदावधि नलम्बिएको खण्डमा यिनै १७ मध्ये एक आईजी बन्ने पक्का छ ।
१७ मध्ये चार डिआईजी महिला छन् । जो आईजीका लागि इतिहास रच्न आतुर छन् । संगठनले अहिलेसम्म दिएको जिम्मेवारीमा पूर्ण सफल रहेका यी उनीहरु आगामी नेतृत्वका लागि तम्तयार नै छन् । यी मध्ये डिआईजी किरण बज्राचार्य अहिले संगठनले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा खटिएकी छिन् भने मिरा चौधरी प्रधान कार्यालयस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको जिम्मेवारी सम्हालेकी छिन् ।
चौधरी समूदायबाट नेपाल प्रहरीको उच्च तहमा पुगेकी मीरा संगठनमा बोल्ड अफिसरका रुपमा परिचित छन् ।
त्यस्तै बज्राचार्य भने मानव बेचबिखनमा उत्कृष्ट काम गरेबापत मानव बेचबिखनविरुद्धको वर्ष हिरोका रुपमा सम्मानित भएकी अधिकृत हुन् । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कार उनले केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा गरेको उत्कृष्ट कार्यको मूल्यांकन स्वरुप प्राप्त गरेकी थिइन् ।
त्यस्तै अर्की डिआईजी हुन् किरण राणा । राजधानीको ठमेलमै जन्मिएर नेपाल प्रहरीमा प्रवेश गरेकी राणासँगै बज्राचार्य र चौधरी एक फरक तर समान पृष्ठभूमिबाट प्रहरीमा प्रवेश गरेका थिए । उनीहरु तीनैजना राष्ट्रिय फुटबल टोलीका सदस्य थिए ।
त्यस्तै अर्की डिआईजी हुन् दुर्गा सिंह । सुदूरको बझाङ जिल्लामा जन्मिएर कञ्चनपुरबाट शिक्षा दिक्षा लिएकी सिंह डाक्टर बन्ने लक्ष्य मोडिएर प्रहरीमा पुगेको थियो ।
पछिल्लो बढुवासँगैको पदस्थापनमा राणा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटिएकी छिन् भने सिंह भने केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा खटिएकी छिन् । उनीहरु दुवै नेपाल प्रहरीका प्रमुख मानिएका दुई विभागमा खटिएका छन् ।
स्पष्ट छ, अहिलेसम्मको कार्यक्षमता दक्ष भएर नै उनीहरुप्रति संगठनले विश्वास गरेको छ । र, उनीहरुले पनि लिंगकै कारण ‘छुट’ पाउने फाैजीबाहेकको परम्परालाई तोड्दै संगठन र मुलुकप्रति कर्तव्य पूरा गरेका छन् । महिला भएकै कारण अहिलेसम्म कुनै पनि ‘विशेष सुविधा’ नलिएका उनीहरु अब पनि महिला भएकै कारण संगठनको नेतृत्व लिनबाट बञ्चित हुनुपर्ला भन्ने कल्पनामा अवश्य छैनन् होला ।
अबका दिनमा उनीहरुको कार्यशैलीले भावी दिनमा संगठनमा महिला नेतृत्वको ढोका खुल्ने विश्वास लिन सकिन्छ । अहिले भएकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंह अनिवार्य अवकाशका लागि जाने भएपछि संगठन नेतृत्वमा यी चारमध्ये एकले इतिहास राख्ने अपेक्षा गर्न सकिन्छ ।

