

प्रेमीसँग मिलेर श्रीमानको हत्या, त्यसपछि १० पटक सर्पले डसाइन्

मेरठ, भारत – उत्तर प्रदेशको मेरठ जिल्लामा एक अचम्मको र भयावह हत्या प्रकरण सार्वजनिक भएको छ, जसमा पत्नीले आफ्नै श्रीमानलाई मार्न प्रेमीसँग मिलेर योजना बनाएकी थिइन् ।
२५ वर्षीय अमित कश्यप (मिक्की) शनिबार राति कामबाट घर फर्केर सुतिरहेका बेला उनकी पत्नी रविता र प्रेमी अमरदीपले मिलेर घाँटी थिचेर उनको हत्या गरे । हत्या पछि प्रमाण लुकाउनको लागि उनीहरूले अमितको शव नजिक विषालु सर्प छाडे र सर्पले १० पटक डसेको देखाए । मृत्यु सर्पको टोकाइका कारण मृत्यु भएको भनी देखाउनु उनीहरूकाे उद्देश्य थियो।
आइतबार बिहान मृत फेला परेका अमितको शव पोस्टमार्टम गर्दा घाँटी थिचिएर मृत्यु भएको पुष्टि भयो । जसपछि रविता र अमरदीपलाई प्रहरीले नियन्त्रणमा लियो । प्रारम्भमा झुट बोलेका उनीहरूले कडाइका साथ सोधपुछ गर्दा अपराध स्वीकार गरे ।
रविता र अमितको ८ वर्षअगाडि विवाह भएको थियो र उनीहरूका तीन सन्तान छन् । रविताले श्रीमानले बारम्बार कुटपिट गर्ने तथा दुर्व्यवहार गर्ने गरेको आरोप लगाउँदै त्यसकै कारण हत्या गर्न बाध्य भएको दाबी गरिन् । सर्प भने अमरदीपले ल्याएको बताइएको छ ।
प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । अवैध सम्बन्धका कारण भएको यो योजनाबद्ध हत्याले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ ।

