

अत्तरियाको हत्या प्रकरणमा बैतडीका युवकको संलग्नता, कारण ४ सय रुपैयाँ !

कैलाली- अत्तरियास्थित दुर्गा मन्दिरको शरणमा सुतेका एक निर्दोष व्यक्तिको हत्या भएको करिब दुई सातापछि घटनामा संलग्न मुख्य आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका निवासी २७ वर्षीय हेमन्त बोहराले ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको खुलेको हो ।
चैत्र २७ गते बिहान अत्तरियास्थित दुर्गा मन्दिरको परिसरमा टाउको फुटेको अवस्थामा कैनीको शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि मुख्य आरोप पुष्टि नभएपछि अनुसन्धान अगाडि बढाइएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार, बोहराले मदिरा सेवन गरेको अवस्थामा राति मन्दिरमा सुत्न गएका थिए । त्यहीँ सुतेका डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका जगदीश कैनीसँग विवाद हुँदा उनले टाउकोमा ढुङ्गा प्रहार गरेका थिए ।
बोहराले आफूले बोक्दै गरेको ४ सय रुपैयाँ हराएको र त्यो पैसा कैनीले चोरेको शङ्कामा आक्रोशमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
हत्या गरेपछि बोहरा फरार रहेका थिए । उनी धनगढीको एक होटलमा काम गरिरहेका थिए । चैत्र ३ गते उनी पुनः अत्तरिया फर्किएका बेला शिविर बस्तीमा डुलिरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धान अनुसार, मन्दिरभित्रै हत्या गरी शवलाई घिसारेर बाहिर फालिएको थियो । बिहान पौने ७ बजे घटनाबारे थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

