

सोलुखुम्बुमा बुवाले खुकुरी प्रहार गर्दा ५ वर्षीया छोरी घाइते

सोलुखुम्बु — आफ्नै बुवाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पाँच वर्षीया बालिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
घटना सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा बिहीबार बिहान भएको हो । ३२ वर्षीय चामकुमार तामाङले आफ्नी छोरी पवित्रा तामाङमाथि खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते बालिकालाई तत्काल थुलुङ दूधकोशी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर अवस्था जटिल भएकाले अस्पतालले उनलाई काठमाडौं रेफर गरेको हो ।
थुलुङ दूधकोशी गाउँपालिकाले बालिकाको जीवन रक्षाका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएको पालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
प्रहरीका अनुसार आक्रमणपछि बाबु चामकुमार फरार छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

