

प्रहरीमा एआईजी बढुवा: डा. मनोज केसीसहित यी ६ डीआईजीको नाम सिफारिस

काठमाडौं – नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जना प्रहरी अधिकृतहरूको बढुवाको सिफारिस सार्वजनिक गरेको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयमा बसेको बैठकले २०८२ साल वैशाख ४ गतेको निर्णयअनुसार यो सिफारिस गरिएको हो ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम सम्पन्न मूल्याङ्कनपछि जनपद प्रहरी समूहतर्फका विभिन्न प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूलाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
सिफारिसमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङ, त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत लालमणी आचार्य, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डा. मनोज कुमार केसीको नाम सिफारिसमा समावेश छ ।
यी अधिकृतहरूलाई प्राप्त अङ्क, सेवा अवधि, कार्यसम्पादन मूल्याङ्कनलगायतका आधारमा सिफारिस गरिएको हो । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा सदस्य–सचिव रहेको समितिले उक्त सूची सार्वजनिक गरेको हो ।
अब मन्त्रिपरिषद्को स्वीकृतिपछि औपचारिक रूपमा उनीहरूलाई एआइजीमा बढुवा गरिनेछ ।

