

‘मामा’बाट बलात्कृत अछामकी बालिकाले जन्माइन् छोरी, बलात्कारी अझै फरार

अछाम- अछाम, चौरपाटीकी १२ वर्षीया बालिकाले मामा पर्ने व्यक्तिबाट बलात्कृत भएपछि छोरी जन्माएकी छन् । बलात्कारको आरोप लागेका मामा भने प्रहरीमा उजुरी दिएको दुई महिना बितिसक्दा पनि पक्राउ परेका छैनन् ।
गत फागुन २ गते बालिका गर्भवती भएको थाहा भएपछि, २५ हप्ताभन्दा माथिको गर्भ भएकाले स्थानीय अस्पतालले गर्भपतन गर्न अस्वीकार गरेकाे थियाे । त्यसपछि बालिकालाई सुरक्षित आवास गृहमा राखिएको थियो । उनले चैत २९ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा छोरी जन्माइन् ।
बालिकाका बुबाले छोरीको प्रसूति गराउन संरक्षकको रूपमा हस्ताक्षर गरे । उनकी श्रीमतीले भने १५ फागुनमा मृत बच्चा जन्माएकी थिइन् । आर्थिक रूपमा कमजोर परिवार छोरी र नातिनीको भविष्यलाई लिएर चिन्तित छन् । बालिकाका बुबाले राज्यले नै छोरीको व्यवस्थापन गरिदिनुपर्ने बताएका छन् ।
अस्पतालका डाक्टरका अनुसार बालिका र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ । तर, कम उमेरमा बच्चा जन्माउँदा बालिकामा स्वास्थ्य समस्या र भविष्यमा पाठेघरको क्यान्सरको जोखिम हुनसक्छ ।
बालिकाले आफूलाई भारतको सुरतमा मामाले पटकपटक बलात्कार गरेको र घरमा भने ज्यान मार्ने धम्की दिएको बताएकी थिइन् । प्रहरीमा फागुन ४ गते उजुरी दर्ता भए पनि आरोपित भारतमा रहेकाले पक्राउ पर्न सकेका छैनन् ।
प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर, दुई महिना बितिसक्दा पनि आरोपित पक्राउ नपर्दा पीडित परिवारले न्याय पाउने आशा गुमाउँदै गएका छन् ।

