

विरोध भएपछि विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीमाथि कारबाही

काठमाडौं- सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले विमानस्थलमा देखिएको प्रहरी दुर्व्यवहारको भण्डाफोर गरेपछि तीन जना सुरक्षाकर्मी कारबाहीमा परेका छन् ।
वैदेशिक रोजगारीबाट छोटो बिदामा नेपाल आएका मोरङका सञ्जय ओझाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले भोगेको अपमानजनक व्यवहारको भिडियो टिकटकमा सार्वजनिक गरेपछि घटना चर्चाको विषय बन्यो ।
३१ चैतमा दुबईबाट काठमाडौं अवतरण गरेका ओझाले अध्यागमन र भन्सार प्रक्रिया पार गरेपछि ट्रली बाहिर ल्याउने विषयमा विवाद भएको बताएका छन् । विवादका क्रममा आफूलाई ‘विमानस्थलका कर्मचारी’ बताउने एक व्यक्तिले उनीसँग बदमासी गरेको र त्यसपछि बोलाइएको प्रहरीले उल्टै दुर्व्यवहार गरेको उनको आरोप छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार घटनामा संलग्न तीन सुरक्षाकर्मीलाई विमानस्थल सुरक्षाबाट हटाइएको छ । उनीहरूलाई कार्यालयमा झिकाएर छानबिन थालिएको छ ।

