आलेले बालुवाटारमा आइतबार थर्काउँदा सरकारै अलमलमा

देउवाले राेके नेकपा एसकाे कलह


काठमाडौ –प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धनको संयुक्त सरकार एक क्याविनेट मन्त्रीको झोंकले धरापमा परेर बचेकाे छ ।

डोटीबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट विजयी भएर पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजबादी)मा लागेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका आलेका कारणा सरकार धरापमा परे पनि प्रधानमन्त्री देउवाले बचाएका हुन् ।

उनीसँगै पार्टीबाट सरकारमा सहभागी भएका चार मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गर्नै लाग्दा मन्त्री आलेले मन्त्रिपरिषदबाट हट्नु परेको दिन सरकार ढाल्ने चेतावनी दिएका थिए । मन्त्री आलेको चेतावनीबाट प्रधानमन्त्री समेत झस्किनु परेको थियाे ।

घटना आइतबार साँझको हो । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पार्टीका शीर्ष नेताको बैठकले सरकारमा सहभागी भएकामध्ये मन्त्री आलेसहित, मन्त्रीहरु बिरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाएपछि चारै मन्त्री बालुवाटार पुगेका थिए ।

जेठ २२ गते आइतबार दिउँसो पार्टी हाईकमाण्डले आफूहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको चर्चा सामाजिक सञ्जाल र सञ्चारका माध्यममा प्रचार भएपछि असन्तुष्ट मन्त्रीहरु प्रधानमन्त्री देउवा भेट्न बालुवाटार गएका थिए ।

प्रधानमन्त्री देउवा भेट्न तीन मन्त्री र छ सांसद बोकेर बालुवाटार पुगेका मन्त्री आलेले आफूहरुलाई पार्टीले फिर्ता बोलाउने निर्णय कार्यान्वयन गरेमा सरकार ढालीदिने चेतावनी दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार आलेले आफुहरुलाई सरकारबाट फिर्ता बोलाएमा १३ जना नेकपा एसका सांसद लिएर पार्टी फुटाउने चेतावनी दिएका थिए । उनले आफूहरु नेकपा एमालेसँग वार्ता गरेर जान सक्नेसम्मको चेतावनी दिएका थिए ।

नेकपा एसका प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी २५ जना सांसद छन् । तर आले एक्लैले १०सांसद बोकेर वालुवाटार पुगेपछि प्रधानमन्त्री देउवाले नेकपा एसका शीर्ष नेतासहित गठबन्धनका नेतासँग छलफल गरेर मात्र आफू निष्कर्षमा पुग्ने भनी आश्वस्त पारेका थिए । आलेले नेकपा एस परित्याग गरेर सरकारको विरुद्ध उत्रिएमा सरकार अल्पमतमा पर्ने र सरकारले बजेट पारित नगर्दै चुनावको घोषणा गर्नु पर्ने स्थिति निम्त्याई दिने चेतावनी दिएका थिए ।

आलेसँगै मन्त्रीहरु विरोध खतिवडा, रामकुमार झाँक्री, कृष्णकुमार श्रेष्ठ (किशान), सांसदहरु निरादेवी जैरु, पार्वती कुमारी विसुङ्खे, गोपालबहादुर बम, धनबहादुर बुढा, बिना बुढाथोकी, लक्ष्मीकुमारी चौधरी सहभागी थिए । मन्त्री आलेले  आफूहरूसँग १३ सांसद  रहेकाे भन्दै वाँकी तीन सांसद पनि आफ्नो पक्षमा रहेको दाबी गरेका थिए ।

आलेको चेतावनी पछि सोमबार बिहान पाँच दलका शीर्ष नेताको छलफल बालुवाटारमा बसेको थियो । सो बैठकले नेकपा एसले मन्त्रीमण्डलबाट आफ्ना सदस्य फिर्ता बोलाएमा गठबन्धनमा रहेका अन्य दललाई पनि मन्त्रीपरिषद्बाट सदस्यहरु परिवर्तन गर्न दबाब श्रृजना हुने भन्दै तत्काल मन्त्रीहरु परिवर्तन नगर्ने सहमति भएको थियो ।

बैठकमा सहभागी कांग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीका नेताहरुले समेत सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा पेश गरेको अवस्थामा विभागिय मन्त्रीहरु परिवर्तन गर्दा समस्या हुने तर्क गरेका थिए ।

पाँच दलिय गठबन्धनका नेताहरुले ‘फेस सेभिङ’को लागि चालु आर्थिक वर्षको बजेट पास भएपछि मात्र मन्त्रिपरिषद्का सदस्य फेरबदल गर्ने विषयमा छलफल गर्ने सहमति गरेपछि नेकपा एसबाट सरकारमा गएका सांसदहरुको मन्त्री पद थमौति भएको थियो ।

एक वर्षअघि गठन भएको नेकपा एसमा मन्त्रीहरुको शक्ति र साथ देखेर पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि निरिह सावित भएका छन् ।

नेकपा एसका पाँच मन्त्री र एक राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी भए पनि कानून मन्त्री गोविन्द शर्मा बन्दी र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई भने फिर्ता नबोलाउने निर्णय गरेको थियो ।

एसले खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गर्ने र तीन मन्त्रीको ठाउँमा मेटमणी चौधरी, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो । आइतबार दिउँसोदेखि सोमबार ११ बजेसम्म मन्त्री पदको सपथग्रहणको समय कुरेर बसेका नेकपा एसका चार सांसद भने निरास भएका छन् ।

प्रतिक्रिया