

बलेको बत्तिमुनि बसेर बिजुली गयो भनेर कथा लेख्नेहरू सक्रिय छन् : विष्णु रिमाल

काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमा निर्माण भइरहेको ‘भ्रामक न्यारेटिभ’बाट सजग रहन सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै रिमालले भने, “तपाईं नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ। आफ्नो काममा तपाईं काबिल र इमानदार हुनुहुन्छ। तर बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने पोस्ट लेख्दै भ्रम छर्नेहरू सक्रिय छन्।”
रिमालले शाक्यप्रति समर्थन जनाउँदै भने, “समाजले बिजुली कसरी आयो भन्ने नबुझी, देवत्वकरण गर्दै बिजुली ल्याइदिने देवता खडा गरिरहेको छ। त्यही पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने सामाजिक सञ्जालका न्यारेटिभ व्यवसायीलाई थाहा छ, तर उनीहरूले समाजमा त्यसभन्दा उल्टो भ्रम छरिरहेका छन्।”
उनले हालको समाजमा सेवा दिने होइन, कथा बनाउनेहरू चर्चामा रहेको उल्लेख गरे। “समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ,” रिमालले लेखेका छन्, “यस्तो बेला तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि त्यो ‘फिड’ मा देखिँदैन, किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।”
सामाजिक सञ्जालमा प्राधिकरणप्रति आलोचना भइरहँदा शाक्यको कार्यकुशलता र नियतबारे प्रश्न उठ्नु अनुचित भएको भन्दै रिमालले तथ्यमा आधारित मूल्यांकन गर्न आग्रह गरेका छन्।

