शर्मा र सिटाैलाकाे गृह जिल्ला झापामा गठबन्धनबाट नेकपा एस वाहिरियो

कांग्रेसले १५ मध्ये १३ पालिका प्रमुखको दाबी नछाड्ने


बिर्तामोठ । सत्तारुढ घटक नेकपा (एकीकृत समाजबादी)ले आगामी बैशाख ३० गते कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटाैलाकाे गृह जिल्ला  झापामा हुने स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धनबाट अलग्गिने घोषणा गरेको छ ।

नेकपा एसले झापाका १५ वटा स्थानीय तहमध्ये चार वटा पालिकामा प्रमुख र ८ पालिकामा उपाध्यक्षसहित २६ वटा वडाध्यक्षको दाबी गरे पनि नेपाली कांग्रेसले अश्विकार गर्दा नेकपा एस झापामा गठबन्धनबाट बाहिरिएको नेकपा एसका झापा जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।

पाँच दलिय गठबन्धनबीच नेकपा एसलाई अर्जुनधारा नगरपालिकाको उपमेयर र कमल गाउँपालिकाको उपाध्यक्षसहित ५ वडाध्यक्ष दिने सहमति भएको थियो तर नेकपा एसले भने बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयरसहित २० वटा वडाध्यक्ष दाबी गरेपछि कांग्रेसले अश्विकार गरेको थियो ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले नेकपा एस गठबन्धनबाट वाहिरिएको भने पनि माईन्युटमा भने हस्ताक्षर गरेको र गठबन्धनबाट बाहिरिएको कुनै लिखित जानकारी नदिएको बताए । नेकपा एसको यस्तो घोषणा धेरै सिट पाउनको लागि गरेको वार्गेनिङ हुन सक्ने नेकपा माओबादीका एक नेताले बताए ।

जिल्लास्तरिय गठबन्धनको संयन्त्रमा कांग्रेसबाट जिल्ला सचिव हुमागाईं, माओवादीबाट मोहन टुडु, नेकपा एसबाट निलमणी बराल र जसपाबाट गौरीमान राई रहेका छन् । कांग्रेस नेता कृष्ण सिटौला झापा आएपछि सहमति भाँडिएको प्रचार प्रमुख सिग्देलले दाबी गरे ।

तर, काग्रेस नेता सिटौलाका स्वकिय सचिव प्रेम भट्टराईले विगत ५ दिनयता नेता सिटौला झापामै रहेको स्पस्ट पारे । झापामा नेकपा एसका एक जना मात्र वडाध्यक्ष वहालमा छन् ।

झापाका १५ स्थानीय तहमध्ये १३ वटा नेपाली कांग्रेसले लिने अडान लिएको छ भने २ वटा स्थानीय तह दमक र अर्जुनधारा मात्र माओबादीलाई दिने पक्षमा कांग्रेस रहेको छ । तर माओबादीले भने गौरिगंज गाउँपालिका र शिव सताक्षी नगरपालिकाको अध्यक्ष र प्रमुख पनि दाबी गरेको छ । गौरिगंजमा भने माओबादीले एउटा पनि वडामा जितेको छैन ।

यसअघि दमक नगरपालिकाको प्रमुखमा कांग्रेस, जसपा, नेकपा एस लगायतका दलले राप्रपाका राम थापालाई समर्थन गर्ने सहमति भए पनि माओबादीले जिल्ला भरीको गठबन्धन भाँडिने चेतावनी दिए पछि कांग्रेस दमकका ६ वटा वडा लिएर माओबादीका गगन पुरीलाई प्रमुख छाड्न तयार भएको हो ।

प्रतिक्रिया