
जेफ्रा आर्चरदेखि स्टार्कसम्मले गरे आईपीएललाई बाइ-बाइ, फर्किने छैनन् यी ५ विदेशी खेलाडी
नयाँ दिल्ली — भारत–पाकिस्तान द्वन्द्वका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु भएको छ। स्थगनअघि स्वदेश फर्केर गएका अधिकांश विदेशी खेलाडीहरू पुनः भारत प्रवेश गरिसकेका छन्, तर केहीले बाँकी खेल खेल्न इन्कार गरेका छन्।
सबैभन्दा चर्चित इन्कारकर्ता हुन् राजस्थान रोयल्सका तिव्र गतिका बलर जोफ्रा आर्चर। १२.५० करोड भारुमा अनुबन्ध भएका आर्चरले टोली प्लेअफ होडबाट बाहिरिएकाले भारत फर्कन असमर्थता जनाएका हुन्।
दिल्ली क्यापिटल्सका ब्याट्सम्यान ज्याक फ्रेजर पनि बाँकी खेलमा नउत्रने सनसनीपूर्ण निर्णयमा छन्। दिल्लीले ९ करोड भारुमा किनेका फ्रेजरको अनुपस्थितिले टोलीको ब्याटिङ लाइनअप कमजोर हुने अनुमान गरिएको छ।
चेन्नई सुपर किङ्सका अलराउन्डर साम करणले पनि २.४ करोड भारुको सम्झौताविपरीत भारत फर्कने प्रस्ताव अस्वीकार गरेका छन्। उनी पनि टोली प्लेअफ होडबाट बाहिरिएकाले निर्णय लिन पुगेका हुन्।
कोलकाता नाइट राइडर्सका मोइन अली (२ करोड भारुमा किनेका) र दिल्ली क्यापिटल्सका मुख्य बलर मिचेल स्टार्क (११.५७ करोड भारुमा किनेका) ले पनि आईपीएलका बाँकी खेलमा भाग नलिंदा आफ्नो–आफ्नो टोली संकटमा परेको छ।
दिल्ली क्यापिटल्स विश्वस्तरीय प्रदर्शन देखाएर शुरुमा उत्कृष्ट अवस्थामा रहँदै पनि प्लेअफमा स्थान सुरक्षित गर्न बाँकी तीन खेललाई निर्णायक मानिरहेको छ। यी स्टार खेलाडीको अनुपस्थितिले दिल्लीहरूका लागि थप चुनौतीपूर्ण परिस्थिति रहने बताइएकाे छ।



कागजपत्र |
