आजै गर्ने भनिएको मन्त्री परिवर्तन कार्यक्रम फेरि रोक्किएपछि नेकपा एसमा तरङ्ग
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीमा अध्यक्ष माधव नेपालले छानेका नयाँ मन्त्रीको नियुक्ति फेरि रोक्किएपछि तरङ्ग छाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारले भोलिमात्र क्याबिनेटमा मन्त्री परिवर्तन गरी सपथको कार्यक्रम राख्ने भनेर खबर पठाएपछि रोक्किएको हो ।
हप्ता, दिन भन्दा भन्दै मन्त्रिपरिषदमा नेकपा एसका मन्त्रीहरुको परिवर्तन एक महिना जस्तै हुन लाग्यो धकेलिएको । मन्त्री बन्न जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र शेरबहादुर कुँवर ठिक्क परेका छन् । ६ महिनामा फेरिने भनिएको मन्त्री ९ महिना टेकिसक्दा पनि नफेरिएपछि कतिपय छटपटीमा छन् ।
आजै गर्ने भनिएको मन्त्री परिवर्तन किन रोकियो भन्ने चासो बढेको छ । यसै पनि नेकपा एसका बहालवाला मन्त्रीमध्ये केहीले विद्रोहको चेतावनी दिएका छन् । यसले पनि देउवा रोक्किएको चर्चा चल्न थालेको छ । नेकपा एसभित्र मन्त्री फेरबदलको विषयले ठूलै तरङ्ग आइरहेको छ । माधव नेपाललाई केही मन्त्रीहरुले धम्की समेत दिन थालेका छन् ।