विदेशीसँग विवाह गर्ने यी बलिउड अभिनेत्रीहरु


मुम्बई(एजेन्सी) । भनिन्छ प्रेम र पीडा लुकाएर लुक्दैन । हालका दिनमा बलिउड अभिनेत्री तापसी पन्नु बलिउडको चर्चाको विषय बनेकी छन् । हालका दिनमा तापसी मालदिभ्समा छिन्, जहाँ उनी डेनमार्कका प्रख्यात ब्याडमिन्टन खेलाडी र ओलम्पिक मेडलिस्ट मेथियास बोएसँग डेट गरिरहेकी छन् । कोही विदेशी पुरुषसँग अफेयरमा रहने तापसी पहिलो बलिउड अभिनेत्री होइनन् । यसअघि कैयौ अभिनेत्रीको नाम विदेशी पुरुषसँग जोडिइसकेको छ । कतिपयले त यो सम्बन्धलाई विवाहमा परिणत नै गरेका छन् ।

सन् २०१८ मा भारतको राजस्थानमा एक चर्चित जोडीको विवाह भयो । यो विवाह अरु कसैको नभई अभिनेत्री प्रियंका चोपडा र उनका हलिउड प्रेमी निक जोनासको थियो । निक प्रियंका भन्दा १० वर्ष कान्छा छन् । तर प्रेमले उमेर छेक्दैन भन्ने कुरा उनीहरुले प्रमाणित गरिसकेका छन् । निकले प्रियंकालाई प्रपोज गरेका थिए र दुवैले निकै समयको सोचविचारपछि विवाहको निर्णय लिए । उनीहरुले वैवाहिक जीवन शुरुवात गरेको दुई वर्ष पुगिसकेको छ ।

बलिउडका कैयौं फिल्ममा काम गरेकी अभिनेत्री सेलिना जेटलीको प्रेम दुबईका होटल व्यवसायी पिटर हगसँग थियो । उनीहरुले निकै लामो समय एकापसमा डेट नै गरे । तर मामला डेटिङमा मात्र सीमित रहेन । उनीहरुले सन् २०११ मा विवाह नै गरे । सेलिना विवाह पछि बलिउडको व्यस्त जिन्दगीबाट अलग्गिएर आफ्नो गृहस्थ जीवनमा रमाइरहेकी छन् ।

अभिनेत्री प्रिती जिन्टाको अफेयर र विवाह विदेशी प्रेमीसँग नै भयो । सन् २०१६ मा यो जोडीले गुपचुप विवाह गरेको थियो । उनका पतिको नाम जीन गुडइनफ हो । उनी व्यापारी हुन् । प्रितीले जीनलाई पति बनाउनुभन्दा उनी निकै लामो सयम जीनसँग डेटमा थिइन् । उनीहरुले अमेरिकाको लसएन्जल्समा विवाह गरेका थिए ।

बलिउड फिल्म ‘पेडमेन’, ‘बदलापुर’ र ‘अन्धाधुन’ जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री राधिका आप्टेले पनि आफ्नो जीवन साथी विदेशी नै रोजिन् । राधिका फिल्म उद्योगमा आउनु अघि नै विवाहित थिइन् । सन् २०१२ मा उनले यूकेका संगीतकार बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । सन् २०११ मा कन्टोम्पोररी डान्स सिक्न लण्डन पुगेकी उनको त्यही टेलरसँग भेट भएको थियो । भेटको एक वर्ष पछि उनीहरुले विवाहको निर्णय लिए ।

अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम’मा उनको पत्नीको भूमिकामा अभिनय गर्ने श्रीया सरनको एक रुसी युवकसँग अफेयर थियो । विदेशी दुलाहा भए पनि उनले राजस्थानको एक होटलमा परम्परागत हिसाबले विवाह गरिन् ।

प्रतिक्रिया