प्लास्टिक अर्थात् विषः सामान किन्न जाँदै हुनुहुन्छ ? झोला बोक्न नबिर्सिनुहोस् !


दुधको प्लास्टिक फेरि अर्को झुन्ड्याउने खालको प्लास्टिकमा दूध बोकेर एकाबिहानै सडकमा लखरलखर आफ्नो घरतर्फ हिडेका समाजका प्रतिष्ठित व्यक्तिलाई देख्छु अनि सोच्छु । यो प्लास्टिकको असरबारे उहाँलाई धेरै कुरा थाहा छ तर किन उहाँले यसको प्रयोग गर्नुभएको होला ?

किराना पसलमा पनि उस्तै –

ग्राहक : साउजी एउटा चाउचाउ दिनुस् न कहाँ हातमा लैजानु, प्लास्टिकमा दिनुस् न ।

दुध डेरीमा –

ग्राहक : दुध २ लिटर, दहि १ लिटर प्लास्टिक डबल गरिदिनुस् है ।

यो त एउटा उदाहरण मात्रै भो । दैनिक एकछिनको सुविधाको लागि हामीले कति प्लास्टिक प्रयोग गर्छौ सम्झनुहोस्  त ? तरकारी, फलफूल देखि लिएर घरमा आउने प्रत्येक सामान सङ्गै हाम्रो घरभित्र प्लास्टिक थुप्रिरहेको हुन्छ । एउटा प्लास्टिकको बोरा त कति छिटो भरिन्छ प्लास्टिकको फोहोरले पत्तै हुँदैन ।

अनि आइसकेको फोहोरलाई फ्याँक्नु त पर्यो । यसको उपाय भनेको कि त सडक छेउमा लगेर थुपार्नु पर्यो । अनि फोहोर उठाउने गाडी आएन हामीलाई सास्ती भयो भनेर कुर्लनु पर्यो कि त घरको छेउछाउमा टोल नै दुर्गन्धित पारेर जलाउनु पर्यो ।

हामीले दिनहुँ प्रयोग गर्ने गरेको प्लास्टिकको फोहोर कहाँ जान्छ र यसले के असर पार्छ एकछिन बुझौ है ।

यत्रतत्र छरिएका प्लास्टिक सडन ५0 वर्ष लाग्छ भने प्लास्टिकका बोतललाई १०० वर्ष लाग्छ । बाटोमा यत्रतत्र छरिएको फोहोर वर्षातको पानी ले बगाएर ढलमा पुर्याउछ अनि फोहोरको जामले डुबानको समस्या आउँछ । पानीसङ्गै बगेर खेतीयोग्य जमिनमा पुगेको प्लास्टिकले खेती उब्जनीमा प्रत्यक्ष असर पार्छ । समुन्द्रमा बग्दै पुगेको प्लास्टिक माछाहरू र समुन्द्री जीवहरुको पेटमा पुगेर यिनीहरूको अस्तित्व नै लोप भैरहेको छ र अब पनि खतरा बढ्दो छ ।

हामीले भोग्दै आइरहेको असामान्य प्राकृतिक प्रकोप पनि यसैको परिणाम हो ।

सास नफेरी हामी एकछिन त के एकपल पनि बाँच्न सक्दैनौं । जीवनमा पर्ने सुखदुःख भन्दा धेरै ठूलो त प्रकृति छ नि होइन र ? प्रकृति बिनाको मान्छेको जीवन कस्तो हुन्छ होला ? सोच्नुस् है ।

हामीले हाम्रा छोराछोरीहरुको लागि कति दु:ख गरेका छौ । यिनीहरूको भविष्य राम्रो होस् भनेर । तर कहिले सोचेका छौ ? एकैछिनको सुविधाको लागि हामीले बढी भन्दा बढी प्रयोगमा ल्याउने गरेको प्लास्टिकको प्रयोगले वातावरणलाई कति ठुलो असर पारेको छ र पार्छ भनेर ?  खेतीको माटोमा प्लास्टिक छ भने त्यो त बिष बराबर नै हुन्छ ।

नदी, खोला अनि बाटोको छेउमा धेरै देखिने पानीको बोतल , तालहरूमा तैरिरहेका पानीका कोल्डड्रिङ्सका बोतल, प्याकिङ खानेकुराका खोलहरुले कति नराम्रो असर पारेका छ्न् । प्लास्टिक कहिले पनि नसड्ने फोहोर हो । दिनप्रतिदिनको बढ्दो प्लास्टिकको प्रयोगले धर्तीको माटो छोपिने कुरा त निश्चित नै छ । कुनै अर्को ग्रहमा त फोहोर थन्क्याउन सकिँदैन ।

मलाई सबैभन्दा बढी चिन्ता प्रकृतिको लाग्छ , गर्न त म एक्लैले के नै गर्न सक्छु र ? एक थुकी सुकी सय थुकी नदी भनेजस्तै हामीले पनि प्रकृति संरक्षणको लागि आफ्नो तर्फबाट केही गरौँ न है । धेरै केही गर्नुपर्दैन अलिकति बानी सुधारे हुन्छ । कोरोनाको डरले माक्स हाम्रो साथमा सधैं हुन्छ लगाउने बानी भैसक्यो । नलगाए पनि ब्यागमा चाहिँ हुन्छ है । त्यस्तै हामीले घरबाट बाहिर निस्कँदा एउटा सानो झोला पनि लिएर निस्कने बानी गर्याैँ भने ९०% प्लास्टिक हाम्रो घरमा भित्रिदैन । अनि फोहोर धेरै नै कम हुन्छ  ।

सबैभन्दा राम्रो कुरा त यति गर्नासाथ हामीलाई खुशी पनि लाग्छ । म पनि प्रकृतिलाई माया गर्छु र मेरो पनि प्रकृति संरक्षणमा  भुमिका छ भन्ने कुराको आभास हुन्छ ।

एउटा सानो प्रयास म आफ्नो साथमा एउटा झोला कहिले पनि छुटाउदिन । तरकारी किन्दा होस् फलफूल किन्दा र अरु जुनसुकै सामान किन्दा म आफ्नो झोलामा नै सामान थाप्छु । पसल गर्ने साउजी पनि प्लास्टिक दिनुनपर्दा मुसुक्क हाँस्ने, अनि अलिकति बढी नै सामान दिने प्लास्टिकको सट्टामा रे ! प्लास्टिकको झोला पनि प्रती के. जि. ३००/- देखि ६००/-सम्म   पर्दोरहेछ । घरमा पनि फोहोर खासै धेरै जम्मा नहुने । अब त बानी भैसक्यो झोला लिएर घरबाट निस्कने । मलाई त प्लास्टिकको झोला बोकेर हिड्दा लाज लाग्छ तपाईलाई नि ?

प्रतिक्रिया