

कैदी फरारको अन्तर्यः जब प्रहरी यौनसम्पर्कको लागि युवती लिएर कोठामा छिरे

काठमाडौं – दाङको घोराही कारागारमा रहेका एक कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेपछि यतिबेला उनको चर्चा हुनु स्वभाविक हो। कैदी भागेपछि अनेकन टिकाटिप्पणी भएको छ।
कतिपयले योजबनाबद्ध रुपमा कैदीलाई भगाइएको आरोप लगाएका छन् भने कतिपयले प्रहरीलाई झुक्याएर कैदी भाग्न सफल भएको भनेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहे पनि कैदी भाग्नुको कारण केही खुलाएको छैन।
प्रहरीकै मोटरसाइकल लिएर भाग्ने कैदी हुन् घोराही कारागारका नाइके यामराज परियार। कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका २९ वर्षीय परियार प्रहरीकै लु३४प ४१० नम्बरको मोटरसाइकल लिएर ८ पुसमा भागेका हुन्।
सुरुमा प्रहरीसँग अस्पताल गएका कैदी फरार भनियो। त्यसपछि लुम्बिनी प्रदेश प्रहरीले एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा घटनाको छानबिन गर्न समिति गठन गर्यो।
‘कैदी फरार प्रकरण’ले मिडियामा समेत राम्रो स्थान पाइरहँदा डिएसपी नेतृत्वको छानबिन समितको प्रारम्भिक अनुसन्धानबाट कैदीलाई भगाउन दुईजना युवतीको प्रयोग गरिएको खुल्न आएको छ।
प्रहरी स्रोतका अनुसार सीसीटिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘योजनाअनुसार नै युवतीको प्रयोग गरी उसलाई भगाइएको स्पष्ट जस्तै भइसकेको छ।’
कैदीलाई भगाउन दुईजना युवतीसँगै ७ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा ७ जना नै पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा कारागार प्रशासनका जेलर युवराज परियार समेत छन्।
त्यस्तै पक्राउ पर्नेमा परियारसँगै, कारागारका प्रहरी सहायक निरीक्षक (असई) रुद्रसिंह ठकुरी, प्रहरी हबल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका–१६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका–३ की समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्य खनालसमेत गरी सात जना रहेका छन्।
खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवतीलगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको प्रहरी स्रोतले बतायो। जेलर परियारले आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।
कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट पदमुक्त गरेर आइतबार नै जिल्ला प्रशासन कार्यालय तानिएको थियो। त्यसपछि तुल्सीपुर कारागारका जेलर अमर वलीलाई घोराहीमा खटाइएको छ।
के थियो घटना?
घोराही कारागारका जेलर परियार ६ पुसदेखि १३ पुससम्म घर विदामा बसेका थिए। ८ दिन लामो बिदा लिएर बसेका जेलर परियार ८ पुसमा अकस्मात कार्यालयमा देखिए। विदा नसकिँदै जेलर कार्यालय आएपछि सबै कर्मचारीको ध्यान उनीतिर केन्द्रीत भयो।
कारागारका जेलर युवराज परियार।
कार्यालयमा आएको केहीबेरमै जेलर परियारले जन्मकैदको सजाए भुक्तान गरिरहेका कैदी परियारलाई बिरामी भएको भन्दै उपचारका लागि अस्पताल लैजान अनुमति दिए। उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा लैजाने तयारी भयो।
अस्पताल लैजाने जिम्मा पाए प्रहरी जवान धनबहादुर चौधरीले। प्रहरी जवान चौधरीले कैदी परियारलाई लु ३४ प ४१० नम्वरको मोटरसाइकलमा राखेर अस्पताल लगे। कारागारबाट निस्कने बेलामै कैदी परियारले प्रहरीलाई युवतीको लोभ देखाउँछन्। प्रहरी यौन सम्बन्धका लागि लोभिन्छन्।
त्यसपछि प्रहरी जवान चौधरीले हत्कडी नलगाई लगिएका परियारलाई अस्पताल नलगि एक होटलमा पुर्याउँछन्। त्यहाँ दुईजना थारु समुदायका युवतीहरु आएर कैदी परियारलाई पर्खिरहेका थिए। प्रहरी र कैदी आएपछि उनीहरुले खानपिन गर्छन्।
उनीहरुसँगै सौजन्य खनाल पनि सँगै थिए। त्यहाँ खनाल र कैदी परियारबीच केहीसमय कुराकानी हुन्छ। अनि प्रहरी जवान चौधरी, कैदी परियार र दुई युवती घोराहीको वीपी चोकदेखि दक्षिणतर्फ रहेको ‘थकाली भान्छा घर एण्ड लज’मा पुग्छन्।
उनीहरुमध्ये कैदी परियार एक युवतीसँग रुमभित्र छिर्छन् भने प्रहरी जवान चौधरी अर्की युवती लिएर अर्कोकोठामा छिर्छन्। जहाँ उनीहरुबीच ३०/३० हजार रुपैँया दिएर यौनसम्पर्क गर्ने समहति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
होटलको कोठाभित्र पस्नुअघि प्रहरी जवान चौधरीबाट कैदी परियारले मोटरसाइकलको साँचो लिइसकेका हुन्छन्। तर प्रहरी जवान चौधरीलाई के थाहा परियारले भाग्ने रणनीति बुनिरहेको कुरा।
कैदी र प्रहरी जवान यौनसम्पर्कको लागि पुगेको गेष्ट हाउस।
सोही मौकामा कैदी परियार प्रहरी जवान चौधरीलाई यौनक्रिडामा भुलाएर भाग्न सफल भए। प्रहरी जवान चौधरी यौनक्रिडामा रमाइरहेका बेला कोठाको चुकुल बाहिरबाट बन्द गरेर परियार भागे।
‘कैदीले नै यौन सम्बन्धका लागि प्रहरीलाई युवतीको जोहो गरिदिएको पाइएको छ,’ प्रहरी स्रोत भन्छ, ‘अनि होटलमा पुगपछि प्रहरी युवती लिएर भित्र छिर्छ, उसले यौन सम्पर्क पनि राख्छ, त्यहि बेला बाहिरबाट ढोका लगाईदिएर कैदी भाग्छ।’
सहमतिमा आफूहरुले शारीरिक सम्बन्ध राखेको युवतीहरुको बयान
प्रहरी स्रोतका अनुसार परियारलाई भागाउन प्रयोग भएका दुवैजना युवतीमाथि अनुसन्धान भइरहेको छ। दुवै युवतीले सहमतिमा आफूहरुले शारीरिक सम्बन्ध राखेको प्रहरीसमक्ष बयान दिएका छन्। स्रोतका अनुसार तीमध्ये एक युवतीका भाई पनि घोराही कारागारमा छन्। भाइलाई भेट्न जाने क्रममा कैदी परियारसँग चिनजान भएको र पछि उनीहरु प्रेममा परेका थिए।
प्रहरी स्रोतका अनुसार कैदी परियारलाई भगाउन सहयोग गरेको आरोपमा खनाललाई समेत प्रहरीले हिरासतमा राखेको छ। प्रहरी अधिकारीहरुका अनुसार कारागारका जेलर परियारले कैदी परियारलाई आफ्नै मनोमानीले नाइके मात्रै तोकका थिएनन् की उनलाई लामो समयदेखि निजि मोबाइल प्रयोग गर्न समेत छुट दिएको खुलेको छ।
कारागारमा कैद भुक्तान गरिरहेका कैदीलाई निजि फोन राख्ने बन्देज छ। कैदी परियार फरार भएपछि उक्त घटनामा जेल परियारको समेत संलग्नता पाइएपछि उनलाई समेत हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
फरार कैदी अहिलेसम्म पनि फेला परेका छैनन्। उनले लिएर भागेको प्रहरीको मोटरसाइकल भने प्रहरीले घोराही–लमही सडक खण्डको मसोट जंगलमा फेला पारेको छ।
प्रेमिका हत्याको आरोपमा जेल पुगेका थिए परियार
परियारको तत्कालीन सत्बरिया गाविस–५ निवासी २२ वर्षीया हेमा चौधरीसँग प्रेम सम्बन्ध थियो। परियारसँगको यौन सम्बन्धपछि हेमाको पेटमा गर्भ रह्यो। गर्भवती भएकै समयमा उनी २०७१ जेठ २२ गते घरबाट हराइन् उनी हराएपछि शंकाको घेरामा परेका परियारलाई २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो।
फरार कैदी यामराज परियार।
परियारले हेमालाई मोटरसाइलमा लगेर साबिक सतबरिया–९ सिमपाखापानी जंगलमा राति १ बजे हत्या गरिएको खुल्यो। परियारकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस–३ का शिवप्रसाद चौधरीले सघाएका थिए।
‘यामराज परियारले आफ्नो मोटरसाइकल चलाई बीचमा हेमा चौधरी र पछाडी शिवप्रसाद चौधरीलाई राखेर लगेका थिए,’ प्रहरीको अनुसन्धानले भन्छ, ‘हराएकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखेरी खोला किनारमा पहिले स्प्रे सुँघाई बेहोस बनाउन खोज्दा स्प्रेले काम नगरेपछि हेमा चौधरीकै सलले घाँटी कसी कर्तव्य गरी मारेका भन्ने खुल्न आयो।’
पक्राउ परेका दुवैले सोही बयान दिएपछि २०७१ साउन ६ गते प्रहरीसहित परियार र चौधरी घटनास्थलमा जाँदा मानव अवशेष फेला पर्यो। घटनास्थलमा दाँया–बाँया ६ वटा बंगारा भएको अगाडि भाग र नलीको हड्डी फेला पारेको थियो।
डिएनए परीक्षण गर्दा सो अवशेष हेमाकै भएको पुष्टि भयो। हेमाको हत्यापछि पहिचान नहोस् भनी उनको शरीरको कपडा, मनिपर्सलगायतका सामग्री अर्जुनखोला सशस्त्र प्रहरी क्याम्पदेखि पश्चिमतर्फ रहेको जंगलको खोलामा फ्याँकेका थिए।
हेमाले प्रयोग गर्ने मोबाइलसमेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतीलाई दिएको खुलेको थियो। सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले परियार र शिवलाई २० वर्ष कैद फैसला सुनाएको थियो।

