सशस्त्रका निलम्बित एआईजी दाहालमाथिको छानबिन प्रतिवेदन गृहमा


काठमाडौं – सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि कारबाही सिफारिस प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ ।

आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी दाहालमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनी कुमार पोखरेललाई दिइएको थियो ।

छानबिनका लागि तीन दिनको म्याद पाएका पोखरेलले प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको स्रोतले बतायो । ‘करिब १२/१३ पेजको बयान पेपरसहित प्रतिवेदन प्राप्त भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । त्यसैले अब गृहमन्त्री सुधन गुरुङले प्रतिवेदन अनुसार आवश्यक निर्णय गर्न सक्नेछन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज १० गते राति काठमाडौंस्थित घरबाटै पक्राउ गरेर ११ गते अपराह्न छाडेको थियो । यद्यपि अपराध अनुसन्धान कार्यालयले सुरक्षा थ्रेटको सूचना पाएपछि घरमा ल्याएर राखेको जनाएको छ ।

दाहालमाथि झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप पनि लगाइएको छ ।

संवेदनशील सूचना चुहाएको भन्दै दाहाललाई गृह मन्त्रालयले १९ असोजमा पदबाट निलम्बन गरेको थियो । सोही दिन छानबिन समिति पनि गठन गरिएको थियो ।

अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए ।

प्रतिक्रिया