युरोपले प्रयोग गरेको, हामीले चिन्नैपर्ने आफ्नै आयुर्वेदको महत्व


-मोहन मैनाली

कोभिड सुरु भएसगै विश्वभरनै आयुर्वेद विज्ञानका विषयमा चर्चा भयो । आयुर्वेद पद्धतीका विषयमा बहस भए र पूर्वीय विज्ञानलाई पश्चिमा जगतले पनि यहि महामारीका बेलामा सम्झियो । आज मैले आयुर्वेदको सही अर्थका विषयमा केही तथ्य पेश गर्दैछु ।

शरिर, इन्द्रीय, मन र आत्माको मेल या संयोगलाई आयू भनिएको छ । शास्त्रले संसारका प्राणी विशेष गरि मानवजगतको आयू र  आरोग्यताको ज्ञान गराउँछ । यही परम शास्त्रलाई ऋषि मुनिहरुले आयुर्वेद भनेर लेखेका छन् ।

चरकमुनी लेख्नु हुन्छ-

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितं

मानन्च तत्र यत्रोक्तामायुर्वेदस उच्यते 

आयुर्हिताहितं ब्याधिनिदानं समनम तथा

विध्यते यत्र विद्वदभिःस आयुर्वेद उच्यते

संसारमा सबै प्राणीहरु सुख चाहन्छन् आयु आरोग्य चाहन्छन् तर प्राप्त गर्न असाध्यै गाह्रो छ । त्यसैले यो कुरा जान्नका लागि आयुर्वेदले संसारलाइ मार्ग प्रशस्त गरिदिएको छ ।

आजको यस विश्वमा जति पनि महादेश तथा तिनमा आश्रित मुलुकहरु छन् भने तिनका अलग अलग तरिकाका आयुर्वेद पद्धती छन् । तर ति सबै आयुर्वेदहरु को जनकचाहिँ बैदिक सनातनी हिन्दुहरुको आयुर्वेद नै हो ।

आयुर्वेदको उत्पतीको यथार्थ समय निश्चित गर्न हाम्रा लागि सर्वथा असम्भव नै छ किनकी यसबारेमा विद्वानहरुको मत पनि बाझिएको पाइन्छ । तर हाम्रो आयुर्वेद संसारमा सबैभन्दा पुरानो र पहिलो अब्बल दर्जाको मानिन्छ । अथर्व वेदको अंगभुत नै  आयुर्वेद भनिएको छ । भनिन्छ, कुनै समयमा आयुर्वेदको सारबाटै भगवान ब्रम्हाजी प्रकट हुनु भयो र संसारका प्राणीहरुको कल्याणमा जुट्नु भयो । भगवान ब्रम्हाजीले एक लाख श्लोक भएको ब्रम्हसंहिताको रचना गर्नु भयो ।

ब्रम्हाजीले ब्रम्ह संहिताको रचना गरेर संसारको कल्याणका लागि अष्ट प्रजापतिमध्येका श्रेष्ठ दक्ष प्रजापतिलाइ आयुर्वेद पढाउनु भयो । दक्ष प्रजापतिले अश्विनी कुमारलाई पढाउनुभयो । फलतः अश्विनी कुमारले संसारभरी आयुर्वेदको प्रचार प्रसार गरी यश र कृति फैल्याउनु भयो ।

उहाँहरुको अदभूत चिकित्सा प्रणालीलाइ देखेर देवराज  इन्द्र प्रभावित भएर इन्द्र स्वयमले अश्विनी कुमारसँग आयुर्वेद विद्या पढ्नु भएको थियो । देवराज इन्द्रले अश्विनी कुमारलाई देवताको वैद्य भएर काम गर्न लगाउनु भएको पुराणहरुमा उल्लेख छ ।

शिष्य परम्पराअनुसार महर्षि आत्रेयले महाराज इन्द्रसँग आयुर्वेदको शिक्षा प्राप्त गर्नुभयो । आत्रेयले आफ्ना ज्ञानी शिष्यहरु अग्नीवेश, परासर, छिरपाणी हारित आदि ऋषिहरुलाइ पढाउनु भयो।

उनीहरुले आयुर्वेदमा पारदर्शिता प्राप्त गरे र आ–आफ्ना नाम जोडेर संहिताहरुको रचना गरेको पाइन्छ। अग्नीवेश हारितलगातका ऋषिहरुको सार मर्म अनुसार चिकित्साका कडीहरु बढाएर चरक आचार्यमा एक महान ग्रन्थको संरचना गर्नुभयो । भनिन्छ अहिले यो ग्रन्थ चरकका नाममा संसारभर प्रसिद्ध छ ।

यदि कुनै वैद्यले चरकको अध्ययन नगरी चिकित्सा गर्छ भने त्यो वैद्य होइन यमदूत हुने भनिएको छ । वर्तमान वैद्यहरुले चरकका आधारमा चिकित्सा गर्न सके संसार यसरी रोगले पिडित बन्ने थिएन होला । यसरी चरकको प्रशंसा गरिएको छ

हाम्रा आयुर्वेदीय चिकित्सा ग्रन्थहरु अरब हुदै युरोप पुगे युरोपबाट विभिन्न भाषाहरुमा अनुवाद हुँदै पुरै विश्वभरी फैलिएका हुन् । इसामसिँहको चार सय वर्षपूर्व युरोपका महान दिग्वीजयी सिकन्दरको सेनामा चिकित्साको लागि हिन्दु वैद्य चिकित्सक नियुक्त गरिएको बताइएको छ

निदाने माधवः श्रेष्ठ सुत्रस्थाने तु बाङ्गभट

शरिरे सुश्रुतः प्रक्त चरकस्तु चिकित्सीते

रोगको निदान र कारण जान्नका लागि माधव निदान सर्वश्रेष्ठ ग्रन्थ हो । सुत्रहरुको लागि ग्रन्थ बाग्भ सुप्रशिद्ध हो भने शारिरीक ज्ञानका लागि सुश्रुत र चिकित्साका लागि चरक सबै भन्दा उत्तम ग्रन्थ हो । चरकमा गद्य र पद्य दुबै रहेका छन् ।

चरक ज्यादै जटिल ग्रन्थ भएका कारणले गर्दा साधारण वैद्यहरुले यसको अर्थ बुझ्नै सक्दैनन् । यस ग्रन्थमा सुत्रस्थान विमानास्थान प्रभृती आठ भागमा बिभक्त गरिएको छ । सुत्रस्थानमा हजारौ कामका कुराहरु बडो खुबीपूर्ण हिसाबले लेखिएको छ भने विमानस्थानमा पदार्थ र रसायन अर्थात फिजिक्स र केमेस्ट्रीको संक्षिप्त बर्णन पाइन्छ ।

यसमा न्याय शास्त्रका अंशहरु पनि अधिक भेटिन्छ । शरिर स्थानमा शरिरका अंगहरुको बर्णनको साथै बेदान्त, सांख्य र बैराग्यका बारेमा चरकले आफ्नो खुबि प्रस्तुत गरेका बैद्य चिन्तामणिले आफ्नो पुस्तकमा लेख्नु भएको छ ।

चरकपछि सुश्रुत दोस्रो नम्बरको ग्रन्थ हो । सुश्रुत महर्षि विश्वामित्रका पुत्र हुन् भनिएको छ । उनले आफ्ना पिताको आज्ञाअनुसार प्राणी मात्रको उपकारार्थ एकसय ऋषिकुमारहरुका साथमा काशीमा काशीराज महाराज दिवोदाससँग आयुर्वेदको अध्ययन गरे ।

महाराज दिवोदास भगवान धनवन्तरीको अवतार हुनुहुन्थ्यो । धनवन्तरीले महाराज इन्द्रको आज्ञाअनुसार काशीराजका रुपमा जन्म लिनु भएको वर्णन गरिएको छ । काशीराजले सबै ऋषि कुमारहरुलाइ आयुर्वेद पढाउनु भयो । एक सय ऋषि कुमारहरु मध्ये सुश्रुत सबैभन्दा तेज अर्थात स्रुतधर थिए । त्यसैले उनको नाम सुश्रुत रहन गएको भनि सुश्रुत ग्रन्थमा लेखिएको छ ।

सुश्रुतले गुरुकुलबाट विदा लिएपछि सुश्रुत ग्रन्थको प्रकाश गर्नु भयो । यस ग्रन्थमा शल्यकृयाका बारेमा समेत लेखिएको छ । अस्त्र चिकित्सा विधि यो बाहेक अरु कुनै ग्रन्थमा पाइन्न ।

हाम्रो आयुर्वेद पद्धती संसारमा सबै भन्दा प्राचिन र चिकित्सा विधिमा नै पहिलो दर्जामा दरिएको छ । आठांै शताब्दीमा हिन्दुस्तानका एक राजवैद्य साउदी अरबको रियादको राजसभामा आयुर्वेद र ज्योतिष शिक्षा दिन गएको इतिहासमा उल्लेख छ । त्यहाँ उनले चरक, सुश्रुतजस्ता ग्रन्थ लिएरै गएका थिए भनिएको छ ।

यसरी हाम्रा आयुर्वेदीय चिकित्सा ग्रन्थहरु अरब हुदै युरोप पुगे युरोपबाट विभिन्न भाषाहरुमा अनुवाद हुँदै पुरै विश्वभरी फैलिएका हुन् । इसामसिँहको चार सय वर्षपूर्व युरोपका महान दिग्वीजयी सिकन्दरको सेनामा चिकित्साको लागि हिन्दु वैद्य चिकित्सक नियुक्त गरिएको बताइएको छ ।

यसैले भनिन्छ, हाम्रो आयुर्वेद संसारमा सबै भन्दा पहिलो र पुरानो मानिन्छ । त्यसैले हाम्रा वैद्य कविराजहरुले अहिले विश्वभर फैलिएको कोरोना भाइरसको उपचार पद्धती चरक, सुश्रुत, वृद्ध त्रयीका आधारमा चिकित्सा गर्न सकौं निरोगी नेपालको निर्माण गरौं ।

प्रतिक्रिया