गृहमन्त्रीको ‘इन्ट्रेस्ट’मा इन्स्पेक्टरको काज सरुवा !

गृह जिल्ला रूपन्देहीको मात्र १० जना इन्सपेक्टरको फेरबदल


काठमाडौं – जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत १३ ठाउँमा सुरक्षाको जिम्मेवारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले कमाण्ड गर्छन्। १० वटा इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दुईवटा वडा प्रहरी कार्यालयको कमाण्ड इन्स्पेक्टरले सम्हाल्छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकाल्यो। काज सरुवाको सूचीमा अधिकांश रुपन्देही जिल्लामा कार्यरत इन्स्पेक्टरहरुको मात्र फेरबदल भएको छ। रुपन्देही गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला समेत हो।

नियमित सरुवा निस्कने बेलामा इन्स्पेक्टरको काज सरुवा निस्कनुले प्रहरी राजनीतिक हस्तक्षेपको शिकार बन्दै गएको अनुमान गर्न सकिन्छ। ‘गृहमन्त्रीको एकलौटी निर्णयमा शुक्रबार इन्स्पेक्टरहरुको सरुवा भएको हुनसक्छ,’ प्रधान कार्यालयका एक बरिष्ठ प्रहरी अधिकृतले भने।

शक्तिकेन्द्र रिझाउनको लागि प्रहरी प्रमुखले समेत पहुँचवाला इन्स्पेक्टरहरुलाई नियमित सरुवा अगावै आकर्षक ठाउँमा काज सरुवा गरेको आरोप शैलेश थापा क्षेत्रीमाथि छ। गृहमन्त्रीको इन्ट्रेस्टमा १६ जना इन्स्पेक्टरहरुको शुक्रबार काज सरुवा निस्किएको हुनसक्ने ती अधिकृतले बताए।

रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनी, इलाका प्रहरी कार्यालय मर्चवार, इलाका प्रहरी कार्यालय सालझण्डी, इलाका प्रहरी मझगवा, इलाका प्रहरी कार्यालय रनौरा, इलाका प्रहरी कार्यालय छपिया, इलाका प्रहरी कार्यालय रुद्रपुर, इलाका प्रहरी कार्यालय सुर्यापुरामा इन्स्पेक्टर इन्चार्ज हुन्।

यस्तै इलाका प्रहरी कार्यालय ओमसतिया, वडा प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय भैरहवा र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि इन्स्पेक्टर इन्चार्ज हुन्। त्यस्तै रुपन्देहीको तीनवटा इलाका प्रहरी कार्यालय, धकधई, इलाका प्रहरी कार्यालय मंगलपुर र इलाका प्रहरी कार्यालय बेथारीमा प्रहरी सहायक निरीक्षक (सई) इन्चार्ज छन्।

शुक्रबार निस्किएको इन्स्पेक्टरको सरुवामध्ये १० जनाको रुपन्देहीमा फेरबेदल भएको छ। जसमा नवीन कुमार थापा क्षेत्रको रुपन्देहीको इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीमा सरुवा भएको छ। त्यहाँ कार्यरत इन्स्पेक्टर शोभा पाण्डेयको संघीय प्रहरी इकाइ कार्यालय, रुपन्देहीमा सरुवा भएको छ।

त्यस्तै जिल्ला रुपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा इन्स्पेक्टर तेजबहादुर खत्री खटाइएका छन्। त्यहाँ कार्यरत इन्स्पेक्टर अमृत भण्डारीको प्रदेश ट्राफिक प्रहरी कार्यालय, रुपन्देही सरुवा भएको छ।

यसैगरी सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत इन्स्पेक्टर राजाराम यादवको इलाका प्रहरी कार्यालय रुद्रपुर सरुवा भएको छ भने त्यहाँका इस्पेक्टर देवेन्द्रकुमार मल्ललाई लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, कोहलपुर पठाइएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत इन्स्पेक्टर केशव केसीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको जिम्मेवारी दिइएको छ। ट्राफिकमा रहेका दिवस जिसीको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर जीवन लामिछानेलाई इलाका प्रहरी कार्यालय रनौराको इन्चार्ज बनाएर पठाइएको छ। रनौरामा कार्यरत चक्रबहादुर डम्बरपालको जिल्ला प्रहरी कार्यालय, बर्दिया सरुवा भएको छ।

संघीय प्रहरी इकाइ कार्यालय, पोखरामा कार्यरत इन्स्पेक्टर युवराजंग कार्कीलाई इलाका प्रहरी कार्यालय, लुम्बिनी, रुपन्देही पठाइएको छ। त्यहाँ कार्यरत रवीन्द्र महत प्रहरी प्रधान कार्यालयको कानून शाखामा सरुवा भएको छ।

यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौं र इलाका प्रहरी कार्यालय खानीखोला, धादिङको इन्चार्जको समेत फेरबदल गरिएको छ। बुढानिलकण्ठमा अनिल ठकुरीलाई खटाइएको छ भने खानीखोलामा अपूर्व ढुंगानालाई पठाइएको छ।

प्रधान कार्यालय मातहतको निकाय मानव स्रोत तथा प्रशासन विभागका एक कर्मचारीका अनुसार ठकुरीको ठाउँमा रहेका इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय, मुस्ताङमा सरुवा भएको छ भने खानीखोलामा कार्यरत इन्स्पेक्टर रुपा थापाको प्रहरी प्रधान कर्यालयमा सरुवा भएको छ।

०००

प्रहरी नियमावली, २०७१ ले विशेष परिस्थितिबाहेकका अवस्थामा सामान्यतया काज सरुवा गर्न निषेध गरेको छ। तर हाल प्रहरीभित्र काज सरुवाको व्यवस्थामा बलियो मापदण्ड नहुँदा अनावश्यक दबाबका भरमा प्रधान कार्यालयले मनपरी सरुवा निकाल्नुपरेको छ। यसअघि पनि आफ्नो मान्छेको लागि यसरी नै काज निकाल्ने गरिन्थ्यो।

काज सरुवाको श्रृंखला अहिलेका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले पनि थेग्न सकेनन्, रोक्ने प्रयास गरेनन्। प्रहरी संगठन ‘महानीरिक्षकको कमाण्ड’मा सञ्चालन हुनुपर्नेछ भन्ने भनाई त आर्दश वाक्य जस्तै भएको छ।

यसरी १० जना इन्स्पेक्टरको रुपन्देहीभित्रै फेरबदल हुनुले प्रहरीभित्रको साख झनै घट्दै जाने सुरक्षाविज्ञहरु बताउँछन्। प्रहरी नेतृत्वले बेला–बेला संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछु भनेपनि पछिल्लो समय झनै हस्तक्षेप बढेको यहि सरुवाबाट पुष्टि हुनेछ।

खासगरी प्रहरी नेतृत्वमा पुग्न चाहनेले कुनै न कुनै राजनीतिक दलका नेताको ‘फेर’ समात्नु र प्रहरी नियमावलीलाई पटक-पटक अनुकुलतामा परिवर्तन गरेर व्यक्ति केन्द्रीत बढुवा मापदण्ड बनाउनु जस्ता कारणले प्रहरी संगठन थिलथियो बन्दै गएको छ।

प्रहरी संगठनमा राजनीति निम्त्याउने पनि प्रहरी अधिकारी नै हुन्। उनीहरुले आफ्नो बढुवा र सरुवाका लागि राजनीतिक दलका नेताहरुलाई गुहार्दा यो अवस्था आएको बहालवाला एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) बताउँछन्। आफू अनुकुल दरबन्दी थप्ने, घटाउने जस्ता कामले झनै प्रहरीको बदनाम भएको ती डिआईजीको गुनासो छ।

‘धेरै बजेट भएका जिल्लामा सरुवा हुनुपर्यो, बढुवामा एक नम्बरमा आउनु पर्यो, अख्तियारमा जानु पर्यो, काठमाडौ परिसरमा सरुवा हुनपर्यो, झापा, मोरङ, एक नम्बर प्रदेश सरुवा हुनुपर्यो,’ यस्ता ठाउँमा जानुपर्दा राजनीतिक दलको फेर समात्न प्रहरी अधिकारीहरु नै पुग्ने गरेका छन्।

भर्खरै बढुवा भएका डिएसपीलाई जिल्ला कमाण्ड चाहियो, भर्खरै बढुवा भएका एसपीलाई काभ्रे, मोरङ, झापा, रुपन्देही, चितवन, पर्साकै कमाण्ड चाहियो, भर्खरै एसएसपीमा बढुवा भएकालाई काठमाडौं परिसर नै किन चाहिन्छ? त्यतिमात्र होइ १ नम्बर प्रदेश, लुम्बिनी प्रदेश, २ नम्बर प्रदेश र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)मा जान समेत होडवाजी छ, जहाँ प्रहरी आँखा लगाउँछन्।

आकर्षक ठाउँमा जान प्रहरीले नेतृत्वलाई समात्ने कि राजनीतिक दलका नेतालाई? गृह मन्त्रालय मातहतको संगठन हो नेपाल प्रहरी। गृहमन्त्रीले गृह मन्त्रालयको काम गर्ने कि प्रहरीभित्र हुने काममा हस्तक्षेप गर्ने? गृहमन्त्रीको काम सरुवा–बढुवामा मात्र हस्तक्षेप गर्ने हो?

प्रतिक्रिया