


माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

बिराटनगर- खोलामा विद्युत प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार बिहान दम्पतीको मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जानकारी दिइन्।
उनका अनुसार सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लिम्बू दम्पतीले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अचानक करेन्ट लागेर दुवै जनाको बिहान ९:४० बजेतिर मृत्यु भएको हो।

