नेपाली सेनाको हराएको एसएमजी १००७९२ः निर्दोष सिपाहीहरूलाई कोर्टमार्सल किन गरियो?


चितवन– २ बर्षअघि चितवनको कालीबहादुर गणबाट नेपाली सेनाको चोरी भएको मेसिन गन (एसएमजी) जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको अनलाइनन्युजले प्रमाणित गरेको छ।

उक्त एसएमजी चोरी गरेको अभियोगमा नेपाली सेनाका दुई जना कर्मचारी उदयपुरका लव गुरुङ र मोरङ सुन्दर हरैंचाका सरोज तामाङलाई भने कोर्टमार्सल गरी सैनिक हिरासतमा राखिएको छ। जबकि उक्त हतियार चोरीको अभियोगमा दुवैलाई फँसाइएको स्पष्ट भइसकेको छ।

उक्त गणमा तत्कालिन समयमा रहेका मेजर दीपेन्द्र श्रेष्ठको नियतका कारण दुवैलाई चोरीको अभियोगमा फँसाइएको प्रमाणित भएको छ। हराएको उक्त एसएमजी सेनाका अर्का कर्मचारी गंगाधर ढकालको साथबाट पाइएको हो।

हालै मात्र उनले आफ्ना साथी भरत गुरुङको हत्या गरेपछि भएको अनुसन्धानका क्रममा ढकाललाई नियन्त्रणमा लिँदै एसएमजी नेपाल प्रहरीले जफत गरेको हो। १००७९२ नम्बरको उक्त एसएमजी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ।

सैनिक कोर्टमार्सलमा परेका लव गुरुङ र सरोज तामाङले उक्त एसएमजी चोरी नगरेको स्पष्ट हुँदा समेत नेपाली सेना के गरिरहेको छ?

प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्,‘नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। हामीले पनि आन्तरिक छानबिन गरिरेका छौं। यस विषयमा तथ्यमा पुगेपछि एउटा निचोड निस्कन्छ। अनुसन्धानको विषय भएकाले अहिले मैले सबैचिज भन्ने अवस्था छैन।’

यस प्रकरणको लहरो भरतपुरमहानगरपालिका–१७ मा भेटिएको भरत गुरुङको शवले तानेको थियो। भरतलाई ढकालले हत्या गरेको प्रहरीले पत्तो लगाएपछि लव गुरुङ र सरोज तामाङ निर्दोष रहेको तथा उनका परिवारलाई पनि दबाबका आधारमा यातना दिएको तथ्य सामुन्ने आएको हो।

प्रहरी र नेपाली सेनाको अनुसन्धान जारी रहेका कारण यस प्रकरणमा उनीहरुको रिपोर्टले नै यो प्रकरण कता मोडिने हो भन्ने अर्थ राख्छ। तर अनलाइनन्युजले पुष्टि गरेको विषय र प्राप्त गरेको प्रमाणका आधारमा ‘दुई बर्षसम्म यातना पाएका सैनिक कर्मचारी लव गुरुङ र सरोज तामाङले कस्तो क्षतिपूर्ति पाउँछन् र कस्तो न्याय पाउलान्?’ अब सेनामाथि प्रश्न छ।

सेनामाथि दाबीपूर्ण प्रश्न उठेका छन्– पार्टी नखुवाएको निहुँमा गलत अभियोग लगाएर फँसाउने मेजर दीपेन्द्र श्रेष्ठलाई कुन हदसम्मको कारबाही होला? उनलाई सैनिक हिरासतमा राखेर कारबाही गरिन्छ कि गरिँदैन?

प्रतिक्रिया