

त्रिविका विद्यार्थीलाई १ लाखकाे स्वास्थ्य बिमा, धेरै छन् अनविज्ञ !
सुविधा पाउने र नपाउने अवस्था पनि जान्नुहाेस्

काठमाडाैं – त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले स्वास्थ्य उपचार खर्चमा एक लाखसम्मको छुट पाउँछन्। बिरामी भएको खण्डमा देशका विभिन्न ६० वटा अस्पतालबाट विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउँछन्। तर, यो विषय धेरै विद्यार्थीलाई थाहा नै छैन।
न त क्याम्पसहरूले नै विद्यार्थीलाई स्वास्थ्य उपचार पाउने विषयमा जागरूक नै गराएको पाइन्छ। क्याम्पसमा भर्ना हुँदा विद्यार्थीले ५ सय शुल्क बुझाउँदा १ लाख बराबरको उपचार सुविधा पाउने व्यवस्था छ।
सुविधा लिने विद्यार्थी न्यून
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशैभरका २ सय १९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा १ सय ९५ र आर्थिक वर्ष २०७७/०७८ मा १ सय २ जना विद्यार्थीले स्वास्थ्य उपचार खर्च लिएका छन्।
यो तथ्याङ्कले कोषबाट उपचार खर्च लिने विद्यार्थीको संख्या पछिल्लो ३ आर्थिक वर्षमा बढ्नुको सट्टा क्रमशः घटेको देखिन्छ। कोरोना भाइरस महामारीका कारण स्वास्थ्य उपचार खर्चको सुविधा लिने विद्यार्थीको संख्या घटेको निर्देशनालयले जनाएको छ। क्याम्पसहरूले समेत विद्यार्थीले छुट पाउने विषयमा विद्यार्थीलाई जानकारी नै नगराएकाे विद्यार्थीले गुनासाे गरे ।
विद्यार्थीलाई पनि भर्ना गर्दा शुल्क तिर्ने भए पनि त्यो शुल्क तिरेको विषयमा धेरै चासो नहुँदा उपचार खर्च बापतको सुविधाबाट वञ्चित भएको प्रशासनकाे तर्क छ ।
त्रिविले तोकेअनुसार छुट पाउने अस्पतालमध्येको एक हो, त्रिवि शिक्षण अस्पताल (टिचिङ)। यो अस्पतालमा त्रिविका विद्यार्थीले उपचारमा छुट पाउँछन्। तर अस्पतालमा यस्तो सुविधा लिएर उपचार गर्न पुग्ने विद्यार्थीको संख्या निकै कम छ ।
सुविधाका विषयमा कहाँ जाने? कसरी लिने? भन्ने विद्यार्थीहरूले शुल्क बुझाए पनि सुविधा लिनबाट वञ्चित भएको छन् । छुटका बारेमा थाहा नहुँदा वर्षमा २०/३० जना विद्यार्थीले मात्रै शिक्षण अस्पतालमा छुट लिएर उपचार गर्ने गरेको त्रिवि शिक्षण अस्पतालले जनाएकाे छ ।
कसरी पाइन्छ सुविधा?
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार स्वास्थ्य उपचार खर्च सुविधा लिनका लागि नियमित भर्ना भएको विद्यार्थी त हुनैपर्छ। भर्ना भएको विद्यार्थीमा स्वास्थ्य समस्या भई उपचार गर्नुपरे कोषबाट स्वास्थ्य उपचार सुविधा पाउनका लागि विद्यार्थीले आफू पढ्ने क्याम्पसमा निवेदन दिनुपर्ने हुन्छ।
विद्यार्थीले निवेदन दिइसकेपछि क्याम्पसले ‘त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’मा विद्यार्थीलाई दिइने सहुलियतका लागि अस्पतालमा सिफारिस गरिदिन पत्र लेख्छ। क्याम्पसले बनाएको पत्र र विद्यार्थी परिचयपत्र (आइडेन्टी कार्ड) लिएर विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय पुग्नुपर्छ।
क्याम्पसको पत्र पाएपछि ‘विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’ले विद्यार्थीको उपचार गर्ने अस्पताललाई उपचार सेवामा सहुलियत गरिदिन पत्रमार्फत निर्देशन दिन्छ। अस्पतालले निर्देशनालयको पत्र पाएपछि विद्यार्थीको सहुलियत रूपमा उपचार गर्छ।
निर्देशनालयले पठाएको पत्र अस्पतालबाट स्वीकृत भएपछि विद्यार्थीले छुट सुविधामा उपचार गर्न पाउने छन् ।अस्पतालमा औषधि र खाना बाहेकको स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट हुनेछ। उपचार भइसकेपछि विद्यार्थीलाई उपचार गर्दा लागेको खर्चको विवरण तथा खर्चको बिल सहित विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा अस्पतालले शोधभर्नाका लागि पेस गर्छ।
उपचार खर्च रुजु गरेपछि निर्देशनालयले ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ मा अस्पताललाई शोधभर्ना गरिदिन सिफारिस गर्ने र विद्यार्थीको उपचार बापतको रकम अस्पतालले कोषबाट पाउने व्यवस्था रहेकाे अस्पतालले जनाएकाे छ ।
उपचारको क्रममा सिफारिसपत्र लिन नसकेको अवस्थामा विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिना भित्रमा सुविधाका लागि निवेदन दिए कोषबाट सुविधा लिन सकिने निर्देशनालयले जनाएको छ।
विशषेगरी दुर्घटना जस्ता आपत्कालीन रूपमा उपचार गर्नुपर्ने अवस्थामा सुविधाको प्रक्रियामा जानुभन्दा पहिलो प्राथमिकता उपचार नै हुन्छ। यस्तो अवस्थामा अस्पतालबाट डिस्चार्ज भएको एक महिना भित्रमा विद्यार्थी कल्याणकारी कोषबाट सुविधा लिन सकिने निर्देशनालयकी उपप्रशासक गुरुङले जानकारी दिएकी छन्।
सुविधा पाउने र नपाउने अवस्था
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ मा विद्यार्थीहरू कोषको अनिवार्य सदस्य हुने व्यवस्था रहेको छ। कार्य व्यवस्थापन प्रणालीको दफा ४ मा उल्लेख छ, ‘विश्वविद्यालयको आङ्गिक क्याम्पस वा केन्द्रीय विभाग वा अनुसन्धान केन्द्र वा कुनै सङ्गठन वा निकायका कुनै शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरू कोषको अनिवार्य रूपमा सदस्य रहनेछन्।’
कोषका सदस्यले स्वास्थ्योपचार सुविधा लिन पाउने व्यवस्था रहेको छ। विद्यार्थीले प्रत्येक वर्ष भर्ना हुँदा नै स्वास्थ्य उपचार बापत ५ सय शुल्क क्याम्पसमा बुझाउनुपर्ने हुन्छ। अहिलेलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले मात्रै कोषबाट स्वास्थ्य उपचार सुविधा लिन पाउने व्यवस्था छ ।
‘विद्यार्थी स्वास्थ्योपचार कोष’का लागि शुल्क प्रत्येक वर्ष भर्ना भएको समयमा नै अनिवार्य रूपमा सम्बन्धित क्याम्पस र विभागले विद्यार्थीहरूबाट उठाएर कोषको खातामा जम्मा गर्नुपर्ने नियम छ। स्वास्थ्य उपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणालीको दफा ६ मा भनिएको छ, ‘शुल्क भुक्तानी नभएको अवस्थामा सम्बन्धित विद्यार्थीले कोषबाट स्वास्थ्योपचार खर्च पाउने छैन।’
क्याम्पस पढिरहेका विद्यार्थीले प्रत्येक वर्ष भर्ना हुँदा स्वास्थ्य उपचार शुल्क नतिरे सुविधा लिन नपाइने व्यवस्था छ । त्यसो त विद्यालयले विद्यार्थीबाट स्वास्थ्य उपचार शुल्क उठाएर ‘विद्यार्थी स्वास्थ्योपचार कोष’मा नबुझाए यो सुविधा लिन नपाइने निर्देशनालयले जनाएको छ।
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ अनुसार विद्यार्थीको स्वास्थ्य उपचार खर्च बापत कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम १ लाख व्यहोर्ने व्यवस्था रहेको छ। एक लाखभन्दा नबढ्ने गरी सबै प्रकारका स्वास्थ्य उपचार खर्चको ९० प्रतिशत मात्र कोषले व्यहोर्ने व्यवस्था छ।
भर्ना भएका बिरामीको लागि जेनेरल वार्डको बेड चार्ज मात्रै कोषले व्यहोर्ने उल्लेख छ। तर उपचारका लागि आइसियुमा राख्न आवश्यक भए अधिकतम एक लाख रकम आइसियुको खर्च कोषले व्यहोर्ने व्यवस्था रहेको छ। एक पटक बिरामी भएर सुविधा लिएका विद्यार्थीले अर्को पटक बिरामी हुँदा पनि कोषबाट सुविधा लिन पाउँछन्।
कार्य व्यवस्थापन प्रणालीमा तोकिएका (६० वटा) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि उपचार हुन नसकेको खण्डमा मेडिकल बोर्डको सिफारिसमा नेपालमा नै अन्य अस्पतालमा वा विदेशमा स्वास्थ्य उपचार गर्न लैजान सकिने व्यवस्था रहेको छ।
केही रोग तथा अवस्थामा भने विद्यार्थीहरूको उपचारमा ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ले खर्च नव्यहोर्ने नियम छ। विद्यार्थीहरूको चस्मा र चस्माको लेन्स खर्च, कानमा लगाउने उपकरणको खर्च भने विद्यार्थी स्वास्थ्योपचार कोषले व्यहोर्दैन। त्यसैगरी शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी खर्च, कस्मेटिक उपचार खर्च, कुनै पनि प्रकारको औषधि खर्च भने कोषले व्यहोर्दैन।
त्यसैगरी सुत्केरी र गर्भवती सम्बन्धी कुनै पनि खर्च सामान्य शरीर चेकजाँच (होलबडी चेकअप) मा लाग्ने खर्च पनि कोषले नव्यहोर्ने नियम रहेको छ। नेपाल सरकारको नीति र कार्यक्रम अनुसार निःशुल्क उपचार गर्ने भनिएका स्वास्थ्य उपचार खर्च कोषले व्यहोर्दैन। क्याम्पसमा भर्ना हुनभन्दा अगाडि लागेको दीर्घकालीन रोग भएको भन्ने कुरा मेडिकल बोर्डबाट ठहर भए त्यस्ता रोगको उपचार खर्च पनि कोषले नव्यहोर्ने प्रावधान रहेको छ।

