

धरानको ग्यारेजबाटै चोरी भएको बस विराटनगरमा भेटियोे

विराटनगर — धरानको बरगाछीबाट वैशाख १२ गते हराएको बस विराटनगरमा फेला परेको छ। बसलाई टुक्र्याएर पाटपुर्जा कवाडीमा बिक्री गर्ने प्रयास भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
व्यवसायी हरेन्द्र चेम्जोङको नाममा दर्ता भएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस विराटनगर–१२ स्थित मंगलबारे चौक नजिकै रोकेर टुक्र्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
विराटनगर–६ मा गीतादेवी साहद्वारा सञ्चालित कवाडी गोदामबाट प्रहरीले बसका चक्काका भित्री रिङ, इन्जिनलगायतका भागहरू बरामद गरेको छ। बस भने विराटनगर–१२ मा पार्किङ गरिएको अवस्थामा भेटिएको हो।
घटनापछि गोदाम सञ्चालक गीतादेवी साह भारततर्फ जोगबनी भागेको जनाइएको छ। उनको ज्वाँई दिपेन्द्र साह पनि गोदाम छोडेर फरार रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने दोषी पहिचान र कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।

