

काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, पानीको फोहोरा प्रयोग

काठमाडौं– काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आइतबार तनावपूर्ण बनेको छ। नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिएअनुसार, आन्दोलनकारीले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो। “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको हो। लाठीचार्ज भने गरिएको छैन,” एसपी बोहोराले बताए।
शिक्षकहरूले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसपछि केही आन्दोलनकारीहरूले ढुंगामुढा गर्न थालेका थिए। अवस्था नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गर्नुका साथै अतिरिक्त सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी छ। महासंघका अनुसार, गत चैत २० गतेदेखि सुरु गरिएको यो आन्दोलन गुणस्तरीय विद्यालय शिक्षा र विद्यार्थी तथा शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन सुनिश्चित गराउने उद्देश्यले गरिएको अन्तिम र निर्णायक संघर्ष हो।

