प्रहरीसँगको झडपपछि शिक्षक महासंघकाे आकस्मिक बैठक आह्वान


काठमाडौँ— प्रहरीसँग भएको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ।

आन्दोलन अशान्त बनेपछि महासंघले आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा आकस्मिक बैठक बोलाएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बैठकमा आज भएको घटनाक्रम र समग्र आन्दोलनको अवस्था बारे छलफल गरिनेछ।

आज नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको लाठी प्रहार र पानीको फोहर हानेपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका थिए। उनीहरूले सडक छेउछाउका ढुंगा उठाई प्रहरीमाथि प्रहार गरेका थिए।

झडपमा गम्भीर घाइते भएका शिक्षकहरूलाई सिभिल हस्पिटल पठाइएको छ भने सामान्य चोटपटक लागेका शिक्षकहरूको उपचार आन्दोलन स्थलमै भइरहेको छ।

महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया