नेपाल प्रहरीमा थपियो एआईजीको दरबन्दी, भावी आईजीको खेलमा होला परिवर्तन?


काठमाडौं – नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीमा हाल प्रशासनतर्फ एआईजीको चारवटा मात्र दरबन्दी छ। महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजीको दरबन्दी छ। अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीको दरबन्दी पाँचवटा हुनेछ।

सरकारले एकजना एआईजीको दरबन्दी थपसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले थपिएको दरबन्दीको लागि बढुवा प्रक्रिया अगाडि बढाएको छ। थपिएको एआईजी पदमा बढुवाका लागि १० जना डिआईजीहरु प्रतिस्पर्धामा छन्।

जबकी थपिएको एआईजीको लागि हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याचमेटहरु डिआईजी ईश्वरबाबु कार्की, डिआईजी प्रकाशजंग कार्की, डिआईजी घनश्याम अर्याल र डिआईजी वसन्त कुमार पन्त पनि प्रतिस्पर्धी हुन्।

बरियताको आधारमा अर्याल पहिलो नम्बरमा छन्। त्यस्तै दोस्रोमा प्रकाशजंग, तेस्रोमा वसन्त पन्त र चौथोमा ईश्वरबाबु कार्की रहेका छन्। आईजीपी थापाकै ब्याचमेट भएकाले सरकारले सम्भवतः उनीहरुमध्ये एक जनालाई एआईजी बढुवाको लागि सिफारिस गर्नुपर्ने सुरक्षाविज्ञ बताउँछन्।

त्यस्तै ११ चैत २०४९ मा प्रहरी संगठनमा प्रवेश गरेका सहकुल थापा, धीरज सिंह, बसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी र अरुण बिसी पनि एआईजीको लागि लबिङ गरिरहेका छन्। आईजीपीका ब्याचमेट ४ डिआईजीसँगै थापा, सिंह, लामा, धानुक, सुवेदी र बिसी एकैपटक डिआईजीमा बढुवा भएका हुन।

त्यसैले १० जना डिआईजीमध्ये एकजना एआईजीको लागि बढुवा सिफारिस हुनेछन्। एआईजीको दरबन्दी थपसँगै भावी आईजीपीको खेलमा समेत परिवर्तन हुनेछ। हालका आईजीपी शैलेश थापा क्षेत्रीले ९ महिनापछि अर्थात १७ वैशाख २०७९ मा अवकाश पाउनेछन्।

क्षेत्रीपछि आईजीपीको लागि विश्वराज पोखरेल एक्ला दाबेदार थिए। यसअघि पोखरेलले राजनीतिक चलखेल गरी आफ्ना ब्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डिआईजीमा बढुवा हुँदै एआईजी भएपछि प्रहरीको ‘चेन अफ कमाण्ड’ मा समस्या आएको भन्दै प्रहरी नेतृत्वको चर्को आलोचना भएको थियो।

तत्कालिन डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थिया। त्यतिबेला पोखरेल आफ्नो ब्याचबाट डिआईजी हुने एकल व्यक्ति हुन्। उनै पोखरेल पछिल्लो समय आईजीपीको मुख्य दाबेदार रहेपनि सरकारले एआईजीको दरबन्दी थप गर्ने निर्णयसँगै उनलाई धक्का लागेको छ।

एआईजीको दरबन्दी नै थप भएपछि आईजीपीको लागि अब दुई जनाको भिडन्त हुनेछ। सम्वभतः पद थपिएसँगै डिआईजीहरु उत्तम सुवेदी, धीरजप्रताप सिंह र सहकुल थापामध्ये एकजना एआईजीको प्रबल दाबेदार रहेको प्रहरी प्रधान कार्यालयभित्रै चर्चा छ।

हालका एआईजीहरु हरि पाल, निरज शाही र प्रधुम्न कार्की आईजीपी थापाकै ब्याचमेट हुन्। उनीहरु २०७९ वैशाख १९ गते आईजीपी थापासँगै अवकाशमा जान्छन्। त्यसपछि दुई जना एआईजीमध्ये एक जनालाई सरकारले आईजीपीमा नियुक्त गर्नेछ।

भावी नेतृत्वको लागि अब सरकारले नियुक्त गर्ने एआईजी र वर्तमान एआईजी पोखरेलबीच चर्को प्रतिस्पर्धा हुनेछ। यसअघि प्रहरी महानिरीक्षक बन्नकै लागि राजनीतिक शक्तिको आडमा सिनियर एसएसपीहरुलाई पाखा लगाउँदै एआईजीसम्म बनेका पोखरेलको सपना कतै तुहिने त होइन?

००००
यस्तै गृह स्रोतका अनुसार प्रहरीमा एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को पनि दरबन्दी थप भएको छ। गृह मन्त्रालयले दरबन्दी थपको प्रस्ताव लगेपछि सोमबारको बैठकले निर्णय गरेको हो।

एक जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै सरकारले थपेको डिआईजी दरबन्दी र बढुवा गरेपछि खाली हुने डिआईजीको लागि पनि चर्को प्रतिस्पर्धा हुनेछ। २ डिआईजीको लागि २० जनाभन्दा बढी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु आकांक्षी रहेका छन्।

त्यसमा एसएसपीहरु सुशीलकुमार यादव, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ प्रतिस्पर्धीका दाबेदार हुन्। हाल प्रहरीमा थपिएको सँगै प्रशासनतर्फ डिआईजीको दरबन्दी २० छ।

त्यस्तै ५ चैत ०५१ मा इन्सपेक्टरमा सेवा प्रवेश गरेको टोली पनि डिआईजीको प्रतिस्पर्धामा छ। यो टोलीचाहिँ अहिलेको प्रतिस्पर्धी मध्येको कान्छो टोली हो। अबको करिब १९ महिनापछि प्रहरीको नेतृत्वमा पुग्ने सो टोलीबाट केही उम्दा अधिकृत डिआईजीको प्रतिस्पर्धामा छन्।

०५१ मा भर्ना भएको टोलीबाट एसएसपी दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी, किरण बज्राचार्य, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल डिआईजीको प्रतिस्पर्धामा छन्। सम्भवतः थापा, राई र ढकालमध्ये दुईजना डिआईजी बढुवाको लागि सिफारिस हुने बताइएको छ।

यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख रहेका थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन्। त्यस्तै एसएसपी ढकालले महानगरीय ट्राफिक महाशामा बस्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेका थिए।

प्रतिक्रिया