नेपाल प्रहरीमा पाँच एआईजीको दरबन्दी थपिँदै, प्रतिस्पर्धी डीआईजी को–को छन्?


काठमाडौं– सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पाँच वटा दरबन्दी थप्न लागिएको हो।

नेपाल प्रहरीमा हाल ५ जना एआईजी छन्। थपिएको पाँचसहित अब १० जना एआईजी हुनेछन्। स्रोतका अनुसार अब बस्ने मन्त्रीपरिषद बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरेर एआईजीको संख्या थप्नेछ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एआईजी थपको प्रस्ताव सम्भवतः आउने विहीबारको मन्त्रिपरिषदमा पठाइनेछ। सोमबार र विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण एआईजी दरबन्दी थप गर्ने विषयमा सहमत भएपछि प्रस्ताव पठाउन लागेको ती अधिकारीले जानकारी दिए।

गृह मन्त्रालयले एआईजी थप गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्ने ओएन्डएम समिति समेत बनाएको छ। सो समितिले एआईजी संख्या थपको प्रस्ताव गरेको स्रोतले बतायो।

गृह मन्त्रालयले प्रहरीका विभागमा एआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल ५ जनाको संख्या रहेको बढाएर १० बनाउन लागेको हो। प्रदेश प्रमुखमा पनि एआईजी हुनुपर्ने ठान्दै मन्त्रालय अघि बढेको छ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक एआईजीको दरबन्दी १६ थियो भने तत्कालिन केपी शर्मा ओली सरकारले एकै पटक संख्या घटाएर ३ मा झारेको थियो।

यसअघि, सरकारले विश्वराज पोखरेललाई व्याचबाट एकल एआईजीमा बढुवा गरेको थियो। लगत्तै एउटा दरबन्दी कायम गरी सहकुल थापालाई पनि ओली सरकारले ब्याचबाट एआईजीमा बढुवा गरेको छ।

थापालाई ओली सरकारले मानव स्रोत विभागमा पदस्थापन गरे पनि देउवा प्रधानमन्त्री हुनासाथ अन्य एआईजीको सरुवा समेत रोकिएको छ।

थपिएको दरबन्दीमा पोखरेल र थापाकै ब्याचीहरु प्रतिस्पर्धामा छन्। एआईजीको लागि धीरज प्रताप सिंह, उत्तम सुवेदी रविन्द्र धानुक, अरुण बिसी, दिवेश लोहनी, बसन्त लामा मुख्य प्रतिस्पर्धी रहेका छन्। उनीहरु एउटै ब्याची हुन्।

त्यस्तै प्रहरी महानिरीक्षक (आईजी) का ब्याचीहरु पनि एआईजी हुनको लागि चर्को लबिङ गरिरहेका छन्।

प्रतिक्रिया