

महाधिवेशनको मिति अनुमोदन बाँकी, यस्ता छन् कांग्रेस नेतृत्वको समीकरणका अनेक कसरत

काठमाडौं– एक साता धकेलेर नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्ने निधो गरेको छ। पदाधिकारी बैठकबाट गरिएको उक्त प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि नयाँ नेतृत्वका लागि कांग्रेसका अनेक समीकरणका अभ्यास सतहमा आउनेछन्।
सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। बिहीबारका केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि महाधिवेशनका लागि समीकरणका चर्चा सतहमा आउनेछन्।
यद्यपि अहिलेदेखि नै विविध प्रकारका अभ्यास जारी रहेको बताइएको छ। कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ।
असार २० गतेभित्र क्रियाशील बारेका विवादका विषयमा देउवाले बुझ्नेछन् र समाधान निकाल्नेछन्। कांग्रेसले अधिवेशनको कार्यतालिका पनि प्रस्ताव गरेको छ।
गाउँ नगर वडाको अधिवेशन ६ साउनमा गरिनेछ भने पालिकाको ११ साउनमा सम्पन्न गर्नुपर्ने प्रस्ताव गरिएको छ। प्रदेश सभा र क्षेत्रीय अधिवेशन १६ साउनका लागि तोकिएको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २० साउनमा हुनेछ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा भने २४ साउनमा अधिवेशन गर्न प्रस्ताव गरिएको छ। १ र २ भदौमा प्रदेश सभाको अधिवेशन सम्पन्न गरी १६ भदौदेखि महाधिवेशन काठमाडौंमा गरिनेछ।
नयाँ नेतृत्वका लागि अनेक समीकरणका अभ्यास
नयाँ नेतृत्वका लागि कांग्रेसमा अनेक प्रकारका समीकरणका अभ्यास जारी छन्। सभापति देउवा दोहोरिन चहान्छन्। आफू दोहोरिने हो भने उनले उपसभापति बिमलेन्द्र निधिसँग सम्झौता गर्नुपर्ने अवस्था रहेको छ।
यसो हुँदा सभापति देउवासँग निधिको सर्त छ, पदाधिकारीमा नयाँ पुस्ताका विश्वप्रकाश शर्मा र गगन थापालाई रोक्नुपर्ने। तर, उनीहरुलाई नरोके निधि आफैं सभापतिको उम्मेदवार बन्ने दाबीमा छन्।
देउवाले भनेजस्तो गर्न नसकेको खण्डमा पत्नी आरजु राणालाई उपसभापतिमा लैजाने तयारी गरेको बताइएको छ। यद्यपि यी विविध समीकरणका विषय विस्तारै टुंगो लाग्ने बताइएको छ।
अर्कातिर, कोइराला परिवार पनि नेतृत्वमा उदाउने तयारीमा छन्। उक्त परिवारबाट शेखर कोइराला सभापतिका लागि दाबेदार छन् र महामन्त्री शशांक कोइराला र सुजाताले सघाउनेछन्। उक्त परिवारले नयाँ पुस्तालाई महामन्त्रीमा स्थान दिएर अगाडि बढ्ने तयारी गरेको छ।
कोइराला परिवारलाई रोक्नका लागि कृष्णप्रसाद सिटौलाको अर्को प्यानल तयार हुन लागेको बताइएको छ। यसका लागि उनले अहिलेदेखि अभ्यास थालेका छन्।
कांग्रेसको हस्तक्षेपकारी शक्तिका रुपमा रहेका प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतको अर्को समूहले पनि आन्तरिक गठजोड तयार पारिरहेको बताइएको छ।
यस पटक बरिष्ठ नेता रामचन्द्र पौडेललाई भने कुनै समूहले खासै महत्वमा राखेको छैन। तर, उनी पुनः सभापतिको उम्मेदवार बन्नका लागि कोइराला परिवार र देउवाइतरको समूहसँग समन्वयमा रहेको बुझिन्छ।

