

स्टार फरवार्ड एरिक्सन खतरामुक्त

काठमाडौं – डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन्।
युरोकप २०२० अन्तरगत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको ४३ औं मिनेटमा एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए।
एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए। बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए।
घटनापछि डेनमार्क र फिनल्यान्डका खेलाडी, अफिसियल, मैदानमा खेल हेर्न पुगेका समर्थकहरुमा सन्नटा छाउँदा सबैको गहभरि आँशु भरिएको थियो। आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो।
झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो। मैदानबाट बाहिर लग्ने क्रममा नै एरिक्सनको होस आएको थियो।
उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो। अस्पतालबाट उनले आफ्नो सहकर्मीलाई भिडियो कलमार्फत कुरा गर्दै खेल सुचारु गर्न भनेका थिए।
तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो। झन्डै डेढ घन्टापछि खेल शुरु हुँदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ।
फिनल्याण्डको जितमा ६०औं मिनेटमा पोहनजनपालेले गोल गरेका थिए। पहिलो हाफमा फिनल्यान्डलाई लगातार दवावमा राखेको डेनमार्कले यो घटनापछि दोस्रो हाफमा भने एरिक्सनकै चिन्ताका कारण स्वभाविक खेल पस्कन नसक्दा पराजित हुन पुग्यो।
अब डेनमार्कले १७ जुनमा बेल्जियम र २२ जुनमा रसियासँग खेल्ने छ।

