छानबिन चलिरहँदा संसद् अवरुद्ध गर्नु अनुचितः गोकुल बास्कोटा


काठमाडौं— नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले संसद् अवरुद्ध गर्नु उपयुक्त नहुने बताएका छन्। भ्रष्टाचारसम्बन्धी विषयमा सम्बन्धित निकायले छानबिन गरिरहेकै अवस्थामा संसद् ठप्प पार्न नहुने उनको भनाइ छ।

पूर्वमन्त्री बास्कोटाले संसद्मा भ्रष्टाचारको आरोप उठेपछि अख्तियारलगायत निकायहरू छानबिनमा लागेको र निष्कर्ष नआएसम्म धैर्य गर्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, “अख्तियार जस्तो नियमनकारी निकायले छानबिन भइरहेको भनी सार्वजनिक रूपमा बताइसकेको छ भने त्यसको निष्कर्ष पर्खिनुपर्छ। अनुसन्धान र अभियोजन दुवै अधिकार उसैसँग छ।”

उनका अनुसार कसैले राजीनामा दिने वा नदिने कुरा व्यक्तिगत निर्णय हो, तर अन्ततः कानुनी प्रक्रिया अनुसार नै निष्कर्षमा पुग्नुपर्छ। “मेरो मामिलामा मुद्दा उठ्दा मैले राजीनामा दिएको थिएँ। अरूले पनि त्यस्तै महसुस गरे निर्णय गर्नेछन्,” उनले स्मरण गरे।

बास्कोटाले संसद् अवरुद्ध हुँदा आम जनताको हितमा प्रतिकूल असर पर्ने चेतावनी पनि दिए। “बजेट रोकिनु भनेको जनताको काम रोक्नु हो। एमाले र कांग्रेसमध्ये कुनै एकले असहमति जनाएन भने बजेट पास हुने निश्चित छ,” उनले स्पष्ट पारे।

उनले लोकतान्त्रिक प्रणालीमा कानुन सर्वोपरि हुने भन्दै व्यक्तिविशेषलाई दया वा माया देखाएर कानुनी प्रक्रिया प्रभावित पार्न नहुने बताए। “यो पञ्चायत होइन, लोकतन्त्र हो। कानुनले जे भन्छ, त्यही कार्यान्वयन हुन्छ,” बास्कोटाको टिप्पणी थियो।

हाल माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायत गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध गरिरहेका छन्।

प्रतिक्रिया