प्रचण्डलाई पेनाल्टी

माधवहरु डिफेन्समा छैनन्, ओलीसँग ‘चाणक्य’ सम्बन्ध खरानी बनाउने मौका


चाणक्य भन्छन्– हरेक मित्रताभित्र एउटा स्वार्थ कुनै न कुनै प्रारुपमा हुन्छ र यहि नै कटु सत्य हो।

नाटकीय रुपमा आफ्ना वैचारिक प्रधान शत्रुसँगको सहकार्यमा प्रचण्डले सजाएका कति सपनाहरूको हत्या भयो। उनी नेपाली कम्युनिस्ट पार्टीको एक मात्र सुपर सुप्रिमोको सपनामा थिए, केपी शर्मा ओलीले त्यसलाई भत्काइ दिए।

राजनीतिक रुपमा अति नै धरासायी बनिसकेका छन्, प्रचण्ड। माओवादीको उठान जसरी अस्वभाविक रुपमा भएको थियो त्यसको संगठनात्मक संरचना र व्यवाहारलाई व्यवस्थित गर्न नसक्दा केही उनीबाट छुट्टिए, केही टाढिए।

यसैकारण उनी राज्य र पार्टी सत्ताको स्वार्थमा ओलीसँग चाणक्य सम्बन्ध गाँस्न पुगेका थिए अहिले त्यसमा पनि असफल र निम्छरो देखिए। यो उदाहरण नेकपा विभाजन गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिनुपर्ने बाध्यता स्पष्ट नै थियो।

एक पटक प्रचण्ड र उनी शासित दल र नेता कार्यकर्ताको व्यवाहार र चरित्रका विषयमा चर्चा गरौं।

माओवादी नेपाली राजनीतिको इतिहासमा खहरे जसरी आयो। बर्षामा गडगडाएर ठूला ठूल नदीभन्दा व्यापक। धेरै चिज बगाउला जस्तो। तर, फेरि केही समयमा त्यहि शुन्यता।

त्यो भेललाई एउटा लयमा बाँध्ने, गतिमा लैजाने विषयमा प्रचण्ड सर्वथा असफल भए। त्यसको फलस्वरुप उनले अवसरवादी र दलाल पुँजीपति मात्र जन्माए। माओवादीका अधिकांश तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता अहिले एउटा ‘ब्रोकर’ भन्दा केही हैनन्।

असलमा भन्ने हो भने माओवाद एउटा विचार होइन, राज्य सत्तामा पहुँचका बनाई नवसामन्तवादी बन्ने लहड र अवसर बन्यो। जसलाई विचारका रुपमा स्थापित गर्नुपर्ने थियो, त्यो अवसरका रुपमा प्रतिस्थापित भयो।

यसैले न संगठनको ताल छ न संरचनाको टुंगो। यी दुवै नभएपछि कुनै पार्टीमा विचार मात्र भएर हुँदैन, त्यसको व्याहारिक उठान, संगठनात्मक गति पनि तेज हुनुपर्छ। विचारलाई गौण राखी सत्तालाई प्रधान बनाउने चरित्रले जनमत त कमजोर बन्दै जाने नै भयो। अझै सुध्रिनेवाला छैन।

यसमा प्रचण्डकै कमजोरी छ। प्रचण्डले पार्टी सत्ता र राज्यसत्तामा आफूलाई प्रधान देख्नु नै गल्ती थियो। यसका अनेक व्यवाहारिक पक्षका उदाहरण छन्।

त्यसका लागि एउटा प्रश्न गरौं– माओवादी नेतृत्वको उत्तराधिकारी को हो? उत्तराधिकारी नहोला, स्पर्धी को हो? स्पर्धी नहोला विचारलाई लिड गर्न सक्ने अर्को नारा के हो?

जनयुद्धकालमा एउटा विचार बनिरहेको थियो प्रचण्डपथ। उक्त पथमा कुनै वैचारिक चिन्तनले स्थान नपाएपछि सम्मेलनका नाममा ‘पोली खाए’। जसरी एमालेमा बेलामौका विचारमा बहस हुने गरेको थियो। मदन भण्डारीले जनताको बहुदलीय जनवादको चर्चा चलाउँदा झलनाथ खनालहरू जनताको जनवादको बहस गरिरहेका थिए।

एउटा वैचारिक लाइन, सिद्धान्त र त्यसलाई व्यवाहारमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बहस तल्लो तहसम्म चलाउन नसक्ने कुनै पार्टी होइन, त्यो अवसरका लागि निर्मित कृत्रिम पौवा मात्र हुनेछ।

प्रचण्डले पार्टी बनाउन सक्ने थिए तर उनले पौवामा सीमित राखे। यसका उदाहरण भनेकै वैचारिक संघर्ष र मन्थनका दुई पाटा मोहन बैद्य किरण र डा. बाबुराम भट्टराईलाई संगठनविहीन बनाउनु हो।

राजनीतिक दल भनेको संगठन र नेतृत्व मात्र होइन। यसमा विचार प्रष्टसँग घुलित हुनुपर्छ। त्यो घुलनभित्रको बहसले नेतृत्व र संघर्ष चलाउनुपर्छ। पार्टी आन्तरिक जीवनमा संघर्ष र प्रतिस्पर्धाको स्पेस हुनुपर्छ। तर, प्रचण्डले यो ३२ बर्षको समयमा यस्ता स्पेश र ग्याप नै राखेनन्, जसका कारण उनले एउटा परिवेशमा उठाएको आन्दोलन अर्को परिवेशमा विसर्जनको अन्तिम चरणमा छ।

यसका प्रमाण रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट मात्रै होइनन्, नेत्रविक्रम चन्द विप्लवदेखि वैद्य, भट्टराई सबै हुन्। यी सबैले प्रचण्ड अग्रगामी सोच भएका नेता मान्छन् तर आन्तरिक लोकतन्त्र र स्पर्धाका निम्ति खुला र उदार त पटक्कै मान्दैनन्। यसैले छाडे। दुनियाँले देख्दा पनि यहि नै सत्य हो।

अहिले पनि माओवादीको चरित्रमा विल्कुल फरक आएको छैन। स्थायी कमिटीको अघिल्लो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको थियो। त्यो भनेको व्यक्ति केन्द्रित प्रणाली भयो, संगठनात्मक ढाँचा भएन।

यस अर्थमा अहिले ओलीले एमालेभित्र सबै प्राधिकार आफूमा केन्द्रिकृत गर्ने र संगठनात्मक वैधानिक बहस र सामूहिक निर्णय हुनुपर्छ भन्ने माधव नेपालहरुको संघर्षले पनि एउटा शिक्षा दिएको छ।

जसरी सडकमा ओलीको कदमविरुद्ध उनको मार्चपास थियो। त्यसमा जीत हारको सम्भावनाको लेखाजोखा नभए पनि सदनमा उनलाई पेनाल्टी हान्ने अवसर छ। यस्तो पेनाल्टी की एमालेभित्रका माधवकुमार नेपाललगायतको टोली ओलीका लागि डिफेन्सिभ छैन

एमाले थोरै प्रशिक्षित छ, आन्तरिक संघर्षमा। यी नेता विचारमा विभक्त हुन सक्छन् तर एउटा व्यक्तिको आचरणमा लीन हुन सक्तैनन्। त्यहाँ बहस हुन्छ। तर अहिले ओली र प्रचण्डका फरक देखिएका वैचारिक र राजनीतिक लाइनका आफ्ना तर्क होलान् तर व्यवाहारिक रुपमा व्यक्ति केन्द्रिकृत निर्णय गर्ने, शक्ति संचय गर्ने आचरण समान छन्।

प्रतिनिधि सभा विघटनको सिफारिसपछि नेपालको राजनीति स्पष्ट दुई धारमा देखिएको छ। प्रचण्ड ओलीसँग विल्कुल विपरित ध्रुवमा छन् अहिले।

यी सबै परिस्थितिका नजिकका पृष्ठभूमीका सन्दर्भमा जानकारी भएका कारण अब प्रचण्डका लागि आएको एउटा मौकाका विषयमा चर्चा गरौं।

यो डेढ दशकको मुलुकको राजनीतिमा प्रचण्डको अस्वभाविक उदयसहित सोही प्रकारको गिरावटलाई अध्ययन गर्न कुनै कठिन छैन। सत्ता राजनीतिमा को कतिबेला कसरी उदाउन सक्छन् भन्ने पनि बेटुंगोको विषय हो। मास्टरी पेशा गरिरहेका उपेन्द्र यादवको उदय र पतनको लय एउटा उदाहरण हो। एमालेमा कर्नरमा रहेर बसेका ओलीको अस्वभाविक उदय र अहिलेको परिस्थितिमा उनको बैठान अलग उदाहरण हो।

विश्वासको मत लिनेगरी ओलीले सदन डाकेका छन्। यो बेला प्रचण्डले आफ्नो एजेन्डा र राजनीतिक करिअरकै सबैभन्दा कठोर समयलाई उपयोग गर्न सक्छन् या सक्तैनन् भन्ने नै मूल प्रश्न हो।

जसरी सडकमा ओलीको कदमविरुद्ध उनको मार्चपास थियो। त्यसमा जीत हारको सम्भावनाको लेखाजोखा नभए पनि सदनमा उनलाई पेनाल्टी हान्ने अवसर छ। यस्तो पेनाल्टी की एमालेभित्रका माधवकुमार नेपाललगायतको टोली ओलीका लागि डिफेन्सिभ छैन। लगभग खाली जस्तै छ जाली। तर, यो मौका उनले पोस्ट बारमा लाग्नेगरी हान्लान् या गोल गर्लान् भन्ने नै मूल विषय हो।

कांग्रेसले साथ दिने लक्षण देखाएको छ। तर जसपालाई उनले उपयोग गर्न सक्लान् या नसक्लान्? त्यसपछिको विकल्प के हो त? महामारीको चपेटमा रहेको मुलुकलाई त्यसबाट निकाल्ने योजनासहित सदनमा उनी गोल ठोक्लान्? सकेनन् भने के होला?

यसमा दुईवटा विषय प्रधान छन्। पहिलो अविश्वासको प्रस्ताव पारित गराउन सकेको खण्डमा प्रचण्डले एक युगको राजनीतिक सैद्धान्तिक लाइनमा स्पष्ट विजय हासिल गर्नेछन्। तर फेरि आगामी चुनावसम्ममा माओवादीलाई लयमा फर्काउने अभ्यास आवश्यक छ। ओलीसँगको चाणक्य सम्बन्ध खरानी बनाउन उनी सफल पनि होलान्।

तर सकेनन् भने? प्रचण्डको राजनीतिक जीवनमा नै सबैभन्दा ठूलो धक्का लाग्नेछ र मुलुक चुनावी मैदानमा लाग्नेछ। यस अवस्थामा ओलीले आफूले किन सदन विघटन गरेको थिएँ भन्ने औचित्य पुष्टि गर्नेछन्। मैदानमा जनताले कसलाई मत देलान् त्यो भविष्यको पाटो भयो तर वर्तमानमा ओलीको अविछिन्न जीत स्पष्ट हुनेछ। यसबेला प्रचण्डले इमान्दारीताका साथ काशीको यात्रा रोज्नुपर्ने हुन सक्छ।

यद्यपि, २७ वैशाखमा सबैको नजर छ। यो राजनीतिक महामारी पार लागोस् भन्ने जनताको स्पष्ट चहाना छ जसले कोरोना महामारीमा ध्यान दिने बाटो खोल्ला कि?

 

 

 

 

प्रतिक्रिया