

मन्त्री मनाङेलाई डिआईजीको स्यालुट !

नवनियुक्त खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सलाम गर्दै डिआइजी घनश्याम अर्याल। तस्बिर :सामाजिक सञ्जाल
काठमाडौं – यतिबेला गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी ) घनश्याम अर्यालले गण्डकी प्रदेशका नवनियुक्त खेलकुदमन्त्री राजीब गुरुङ उर्फ दीपक मनाङेलाई स्यालुट गरेको फोटोले निकै चर्चा पाएको छ। अर्यालले सपथग्रहण कार्यक्रममा पुगेर मनाङेलाई स्यालुट गरेका हुन्।
कुनैबेला प्रहरीको ‘इन्काउन्टर’ सूचीमा रहेको बेला डिआईजी अर्यालले पनि मनाङेको खोजी गरेका थिए। गुण्डानाइके मनाङे ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी साबित भएपछि फरार रहेको बेला प्रहरीले उनको ‘इन्काउन्टर’ को योजना समेत बनाएको थियो।
डिआईजी अर्यालले कुनैबेलाका गुण्डानाइके भनेर चिनिएका मनाङेलाई स्यालुट गरेको फोटोले प्रहरीकै शीर निहुरेको हो? गम्भीर प्रश्न उब्जेको छ। ‘डिआईजी अर्याल सपथग्रहण समारोहमा नगए पनि हुन्थ्यो। कुनै बहना बनाएर उनी छलिन सक्थे। नभए अरु कसैलाई पठाउन सक्थे,’ एक प्रहरी अधिकारी भन्छन्, ‘उहाँ आफै जानुपर्ने कारण चाहिँ थिएन।’
गुण्डा नाइकेलाई सलाम गरेको दृश्य भाइरल भएपछि अनेकन टिकाटिप्पणी हुन थालेको छ। कतिले यसलाई नेपाल प्रहरीको शिर निहुरिने काम डिआईजीले गरेको भन्दै अर्यालको चर्को आलोचना समेत भएको छ।
यस विषयमा डिआईजी अर्यालले ‘प्रदेशको मन्त्री भएपछि स्यालुट गरे, यसमा मैले के बिगारे’ भन्दै पत्रकारलाई उल्टो प्रश्न गरे। ‘उहाँलाई सरकारले मन्त्री नियुक्त गरेको छ। सपथग्रहण समारोहमा पुगेपछि स्यालुट गर्नु मेरो कर्तव्य हो,’ उनले भने।
नेकपा एमालेको समर्थनमा मनाङे गण्डकी प्रदेशका मन्त्री बन्न सफल भएका छन्। सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन्।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री नियुक्त भएकै दिन बिहीबार मनाङेलाई सपथग्रहण गराएका छन्।
०००००
मनाङले मन्त्रीको पदभार सम्हालेपछि मैले केही गल्ती गरे भने भोलि नेपाल प्रहरीले समातेर लैजाने बताए। ज्यान मुद्दाको अभियुक्त भनेर तस्बिर सार्वजनिक गरेको प्रहरीले स्यालुट गर्न थालिसक्यो भन्ने प्रश्नमा मनाङले भने, ‘विचरा उनीहरूको आफ्नो ‘ड्युटी’ हो। हाम्रो देशमा पुलिसले आफ्नो ‘ड्युटी’ एकदमै राम्रोसँग गरेको छ, यो तपाईं मान्नोस्।’
भारतमा पुलिस र नेता मिल्छ भन्छन्, नेपालमा त्यस्तो नहुने बताउँदै मनाङले आज म यो पोजिसनमा छु, स्यालुट गरेको बताए। ‘भोलि मैले गलत गरेँ भने मलाई जेलमा हाल्ने हो,’ नवनियुक्त मन्त्री मनाङले भने।
परीक्षा नदिई पुलिसमा भर्ना भएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सम्म भएको मान्छे चिनेको भन्दै मनाङले भने, ‘तर अहिले त्यस्तो छैन। अहिले केटाहरू पढेर आएका छन्। अहिले राम्रा–राम्रा पुलिस अफिसर छन्। गल्ती गर्नेलाई छाड्दै–छाड्दैन। पुलिसमा धेरै ‘चेन्ज’ भएको छ।’
०००००
कुनैबेला मनाङे प्रहरीको ‘इन्काउन्टर’ सूचीमा थिए। ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी साबित भएपछि फरार मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो।
२८ साउन २०६९ मा तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो। सर्वोच्च अदालतले समेत पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
मनाङे प्रहरीको खोजीमा सूचीमा परेपछि २०७४ माघबाट कहिले भारत कहिले नेपाल गर्दै लुकेर बसे। कानुनतः दोषी ठहरिएका उनी प्रदेश सभामा उम्मेदवारका लागि अयोग्य भए पनि एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए।
विजयी भएलगत्तै उनको अपराध खुलेको थियो। प्रदेशसभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि ३ माघबाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा ७ वैशाखमा काठमाडौंमै फेला पार्यो।
जतिबेला एमालेको शुभेच्छामा मनाङको प्रदेश सभा सांसद बन्न सफल भए पनि उनले सपथ खान नपाएकाले उनको माननीय यात्रा केही समयको लागि रोकियो। महानगरीय प्रहरी परिसरले पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालत बुझाएपछि उनलाई डिल्लीबजार कारागार लगियो।
करिब ८ महिना जेलमा बसेपछि सर्वोच्चकै आदेशमा मनाङे रिहा भए। ६ पुस २०७५ मा उनी २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका हुन्। त्यसपछि १४ माघमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसदको सपथ खुवाएका थिए।
त्यसपछि उनी खुलेआम राजनीतिमा हिँडिरहेका छन्।
मनाङेको राजनीतिक यात्रा
०४७ देखि ०६८ः कहिले राप्रपा कहिले कांग्रेस
०६८ः तत्कालिन संघीय समाजवादी पार्टी प्रवेश
०७३ पुस २८ः राप्रपा प्रवेश
०७४ असोजः एमालेमा प्रवेश
०७४ कात्तिकः स्वतन्त्र उम्मेदवार
०७४ मंसिरः एमालेको साथले प्रदेश सभा निर्वाचित
आपराधिक यात्रा
०५९ भदौः धनमाल डाका मुद्दा
०६० पुसः सार्वजनिक अपराध
०६० चैतः सार्वजनिक अपराध
२०६१ वैशाखः खुकुरी हानेर हत्या प्रयास
०६३ फागुनः गोली हानेर हत्या प्रयास
०६५ माघः कुटपिटमा एक वर्ष कैद
०६८ जेठः कुटपिट
०६९ चैतः ठगी
०७० जेठ ५ः अवैध सम्पत्ति
०७३ असारः संगठित अपराध
०७४ वैशाखः सार्वजनिक अपराध

