
‘देउवा युग’को अन्त्यपछि डडेल्धुरामा सत्ता उत्तराधिकारको लडाइँ
काठमाडाैं- डडेल्धुराको राजनीतिक पहिचान वर्षौँसम्म एउटा नामसँग जोडिएको थियो- शेरबहादुर देउवा । निर्वाचनको चर्चा चल्नासाथ डडेल्धुरा भनेपछि कांग्रेस उम्मेदवार देउवाकै अनुहार मतदाताको मनमा आउँथ्यो । तर यसपटक त्यो परिचित दृश्य बदलिएको छ । २०४८ देखि २०७९ सम्म लगातार सात वटा संसदीय निर्वाचन जितेका देउवा यसपटक चुनावी मैदानमै देखिँदैनन् ।
नेपाली राजनीतिमा ‘ह्याट्रिक प्रधानमन्त्री’को छवि बनाएका देउवा डडेल्धुराका लागि कांग्रेसको एकमात्र विकल्पजस्तै थिए । पार्टी सभापति र सत्ताको केन्द्रमा रहेकै कारण डडेल्धुरा उनको अभेद्य किल्ला बनेको थियो । तर पार्टी नेतृत्वबाट बाहिरिएसँगै उनको संसदीय यात्रामा पनि ब्रेक लागेको छ । यो विश्राम देउवाको व्यक्तिगत चाहना हो कि बदलिँदो राजनीतिक समीकरणको परिणाम? यो प्रश्न अहिले कांग्रेसभित्र र बाहिर दुवैतिर बहसको विषय बनेको छ ।
कांग्रेसको एक धार भन्छ- देउवाले सक्रिय राजनीतिबाट केही पछि हटेर ‘अभिभावक’को भूमिका रोजेका हुन् । तर अर्को धारले यसलाई फरक ढंगले हेर्छ । गगन थापा नेतृत्वको कांग्रेसले पुस्तान्तरणलाई संस्थागत रूपमा लागू गर्न खोज्दा देउवालाई टिकट नदिइएको वा बाध्यतापूर्वक पछि हट्नुपरेको चर्चा पनि उत्तिकै छ । यही बहसका बीच कांग्रेसभित्र डडेल्धुरामा ‘देउवा युग’ औपचारिक रूपमा समाप्त भएको निष्कर्ष निकालिएको छ ।
अब त्यो लामो राजनीतिक विरासत थाम्ने जिम्मेवारी युवा नेताको काँधमा आएको छ । कांग्रेसले डडेल्धुरामा देउवाका उत्तराधिकारीका रूपमा नैनसिंह महरलाई अघि सारेको छ । विद्यार्थी राजनीतिबाट उदाएका महरका लागि यो केवल चुनाव होइन, देउवापछिको डडेल्धुरा कसले सम्हाल्छ भन्ने प्रश्नको उत्तर पनि हो ।
महर डडेल्धुराका लागि नयाँ नाम होइनन् । त्यहीँ हुर्किएका र यहीँको विद्यार्थी राजनीतिबाट खारिएका उनी नेविसंघ पृष्ठभूमिका नेता हुन् । २१ वर्षको उमेरमै २०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक सभापति बनेका महरले २०५६ सालमा जिल्ला सभापतिको चुनाव जिते । त्यसपछि २०५७ सालको चितवन महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका उनी संगठन विभाग प्रमुख, उपाध्यक्ष हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय सभापति बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका महरले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मको अनुभव सँगालेका छन् । राजनीतिमा पूर्णकालीन हुनुअघि उनले पत्रकारितामा पनि हात हाले । २०५३ देखि २०५७ सालसम्म कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा काम गरेको अनुभवले उनलाई जनसमस्यासँग नजिक बनाएको उनी निकट नेताहरू बताउँछन् ।
शिक्षामा पनि महर अब्बल मानिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उनी वैचारिक रूपमा सशक्त छन् । उनका पाँच वटा पुस्तक प्रकाशित छन् । २०६२/६३ को जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताएका महर लोकतन्त्रप्रति प्रतिबद्ध नेताका रूपमा चिनिन्छन् । समाजसेवामा सक्रिय रहेका उनले दैवी प्रकोप उद्धार पदक र अन्तर्राष्ट्रिय सम्मानसमेत पाएका छन् ।
तर आउँदो फागुन २१ गते हुने निर्वाचन महरका लागि सजिलो छैन । ‘देउवाको नाममा भोट माग्न जति सहज थियो, नयाँ अनुहारका लागि त्यो विरासत जोगाउनु फलामको चिउरा चपाउनुजस्तै हो,’ उनी निकट नेता भन्छन् । पछिल्ला चुनावहरूमा देउवा स्वयं उम्मेदवार हुँदा पनि मतान्तर घट्दै गएको तथ्यले यसपटकको चुनौती झनै बढाएको छ ।
महरका मुख्य प्रतिस्पर्धी नेकपा एमालेबाट चक्र स्नेही छन् । उनी एमालेको परम्परागत मत जोगाउने रणनीतिमा छन् । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशी छन् । २०७९ मा स्वतन्त्र रूपमा प्रदेश सभा जितेका जोशीले सांसद पदबाट राजीनामा दिएर रास्वपाबाट संघीय चुनाव लड्ने तयारी गरेका छन् । पुराना दलप्रतिको वितृष्णालाई उपयोग गर्दै रास्वपाले डडेल्धुरामा बलियो उपस्थिति जनाउने आकलन गरिएको छ । त्यस्तै नेकपाबाट मानसिंह मालसहित अन्य दलका उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
विपक्षी दलहरू कांग्रेसको गढ भत्काउने दाउमा छन् । महरका लागि भने यो जीवनकै सबैभन्दा ठूलो अग्निपरीक्षा हो । एकातिर देउवाले बनाएको संगठनको बलियो जग छ भने अर्कोतिर नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर ।
डडेल्धुरामा यसपटक विगतझैँ एकहोरो परिणाम आउनेमा धेरैले शंका गरेका छन् । मतदाता परिवर्तन खोजिरहेका छन् । तर कांग्रेसको संगठनात्मक पकड र महरको व्यक्तिगत छविले अन्ततः नतिजा कांग्रेसकै पक्षमा आउने दाबी गर्नेहरू पनि कम छैनन् । यद्यपि एमाले र रास्वपाको बढ्दो प्रभावलाई नजरअन्दाज गर्न नमिल्ने विश्लेषकहरूको भनाइ छ ।



कागजपत्र |
