आगजनी र तोडफोड गर्नेलाई कानुनी कठघरामा उभ्याउनैपर्छ: ओली


काठमाडौं-  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, तोडफोड र आगजनी गर्नेहरूलाई कुनै पनि हालतमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ‘जेन–जी’ आन्दोलनका क्रममा झापाका विभिन्न स्थानमा भएका आगजनी र तोडफोडका घटनास्थलको अवलोकनपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

गृह जिल्ला झापामा पुगेर क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गर्दै अध्यक्ष ओलीले सार्वजनिक तथा राष्ट्रिय सम्पत्ति, स्थानीय तहका कार्यालय र राजनीतिक कार्यकर्ताका निजी घरमा आगो लगाउने कार्य गम्भीर आपराधिक गतिविधि भएको उल्लेख गरे । यस्ता क्रियाकलापलाई कुनै पनि बहानामा जायज ठहर गर्न नसकिने उनको भनाइ थियो ।

ओलीले देशलाई शान्त, सुरक्षित र बस्न लायक बनाउने हो भने अपराध नियन्त्रण अपरिहार्य रहेको जिकिर गरे । ‘अरूको घर, कार्यालय र सार्वजनिक संरचना जलाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनुको विकल्प छैन,’ उनले भने, ‘यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूलाई कारबाही हुनैपर्छ।’

यसैक्रममा उनले वर्तमान अन्तरिम सरकारमाथि तीव्र आलोचना गरे । ओलीले सरकार स्वयंले अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाउँदै देश जलाउनेहरूकै हातमा सत्ता पुगेकाले दोषीहरू उम्किरहेका दाबी गरे । ‘अपराध गर्नेहरूलाई कारबाही गर्नुको सट्टा जोगाउने काम भइरहेको छ,’ उनले भने, ‘यसले राज्यको शासन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ओली हाल झापा केन्द्रित चुनावी गतिविधिमा व्यस्त छन् । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् । गत सोमबार दमक पुगेर मनोनयन पत्र दर्ता गरेपछि उनी लगातार क्षेत्र भ्रमण र जनसम्पर्कमा सक्रिय देखिएका छन् ।

यस पटकको निर्वाचनमा झापा–५ राष्ट्रिय राजनीतिका लागि पनि चासोको केन्द्र बनेको छ । पूर्वप्रधानमन्त्री ओली स्वयं उम्मेदवार भएपछि यहाँको प्रतिस्पर्धालाई देशव्यापी राजनीतिक सन्देशसँग जोडेर हेरिएको छ । विभिन्न राजनीतिक चुनौतीहरूका बीच ओलीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

प्रतिक्रिया