माछापोखरीबाट धादिङ–नुवाकोट बस हटाइयो, अब नयाँ बसपार्कबाट मात्र सञ्चालन


काठमाडौं – माछापोखरी क्षेत्रबाट सञ्चालन हुँदै आएका धादिङ र नुवाकोट गन्तव्यका बस तथा माइक्रोबसहरूलाई हटाइएको छ।

मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनका अनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी अब ती रुटका सवारीसाधनहरू नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने व्यवस्था गरिएको हो।

ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरी बलको संयुक्त समन्वयमा उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ। यसअघि माछापोखरी क्षेत्रमा अनियमित रूपमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीलाई व्यवस्थित गर्दै यातायात प्रणाली सुधार गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।

निर्णयसँगै माछापोखरी र बिजी मल आसपास क्षेत्रका बस टिकट काउन्टरहरू पनि हटाइएको ट्राफिक प्रहरीले जनाएको छ।
सम्बन्धित निकायले यात्रुहरूलाई अब धादिङ र नुवाकोट जाने यात्राका लागि नयाँ बसपार्कबाट मात्र टिकट खरिद गर्न र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया