
आफ्नै सरकारमाथि अविश्वास ? खगेन्द्र-रिमाकाे दोहोराे भूमिकाले अनुसन्धान प्रभावित हुने चिन्ता
काठमाडौं- सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २३ वर्षीय श्रीकृष्ण विक मृत फेला परेपछि सुरु भएको विवादले अब राजनीतिक मोड लिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका सांसदहरू स्वयं सरकारकै पक्षका हुनु र उनीहरूले नै सरकारी संयन्त्रमाथि अविश्वास जनाउँदै दबाब सिर्जना गर्नुले नयाँ बहस जन्माएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्मासहितको टोली जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमै धर्नामा बसेको छ । उनीहरूले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, खुर्कोटका इन्स्पेक्टर तथा ड्युटी कमान्डरसम्मलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।
तर यता प्रहरी प्रधान कार्यालयदेखि प्रदेश प्रहरी कार्यालयसम्मले छुट्टाछुट्टै छानबिन समिति गठन गरिसकेका छन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरमै सात सदस्यीय समिति बनाइएको छ भने डीआईजी दिनेश कुमार आचार्यको नेतृत्वमा केन्द्रीय तहबाट समेत छानबिन सुरु भइसकेको छ ।
छानविन समितिमा प्रहरी अधिकृतहरु नेपाल प्रहरीको युएन शाखाका रविन्द्रप्रसाद पौडेल, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोका इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रेम रेग्मी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका राजेश्वर सापकोटा सदस्य रहेका छन् ।

ती सबै संयन्त्र सक्रिय हुँदाहुँदै राजनीतिक तहबाट भइरहेको दबाबले अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका विक वैशाख ७ गते साँझ हिरासतको शौचालयमा आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए । उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । तर मृतकका परिवारजनले भने कुटपिट र दबाबका कारण हत्या भएको दाबी गर्दै आएका छन् ।
यही सन्देहलाई आधार बनाएर सांसदहरू सडकमा उत्रिएका हुन् । तर अधिकारीहरूले सरकारमै सहभागी दलका सांसद स्वयंले सडक आन्दोलन गर्नु र ‘प्रहरीले हत्या गरेको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिनु अनुसन्धानअघि नै निष्कर्ष निकाल्ने प्रयास हो भनेर भनिरहेका छन्।
सामाजिक सञ्जालमा समेत यही विषयले चर्को बहस निम्त्याएको छ । कतिपयले सांसदहरूले ‘न्याय माग्ने होइन, न्याय दिलाउने ठाउँमा’ रहेको स्मरण गराउँदै यस्तो प्रदर्शनलाई ‘राजनीतिक स्टन्ट’को संज्ञा दिएका छन् ।
सांसद खगेन्द्र सुनारले शुक्रबार बिहान धर्ना बसेकाे फाेटाे फेसबुकमा पोस्ट गर्दै लेखेका थिए, ‘हिजोदेखि रातभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं ! प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई उपस्थितिको लागि अपिल छ !’
उनको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ । धेरैले अनुसन्धान नै नटुंगिँदै ‘हत्या’ भन्दै निष्कर्ष निकाल्नु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । फेसबुक प्रयोगकर्ता राजेन्द्र ऐरले सुनारकै पाेस्टमा कमेन्ट गरेका छन्, ‘तपाईं पहिला त माननीय हो, अर्काे कुरा तपाईंको पार्टिको नेतृत्वमा सरकार छ अनि तपाईं कोबाट कस्तो न्याय माग्दै हुनुहुन्छ खगेन्द्र सर ?’
यस्तै तेजु बोहराले पनि प्रश्न उठाएका छन्, उनले लेखेका छन् ‘आफै सरकारमा आफै आन्दोलन ? जनताले कसरी बुझ्लान् तपार्ई दुई वटै ?’ करन साउदले पनि कटाक्ष गर्दै लेखेका छन्, ‘तपाई माननीय, तपाईको पार्टी सरकार… न्याय कोसँग माग्दै हो ?’
विगतमा पनि हिरासतभित्र मृत्यु भएका घटनामा छानबिन समिति गठन गरी अनुसन्धान भएको उदाहरण छन् । तर यसपटक भने सुरुदेखि नै उच्च राजनीतिक दबाब देखिनु, त्यसमा पनि सत्तारूढ पक्षकै सांसद सक्रिय हुनु, राज्य संयन्त्रमाथिको विश्वास कमजोर भएको संकेतका रूपमा व्याख्या हुन थालेको छ ।
घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्ट र छानबिन समितिको निष्कर्षपछि मात्र स्पष्ट हुने भए पनि त्यसअघि नै भइरहेको राजनीतिक दबाब र सार्वजनिक आरोप–प्रत्यारोपले अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न उठाउन थालेको छ।



कागजपत्र |
