
जन्ती पठाउनुपर्ने उमेरमा मलामी, जेनजी आन्दोलनले जोशी परिवारलाई दिएको असह्य घाउ
कैलाली- ७८ वर्षीय वासुदेव जोशी र उनकी श्रीमतीको जीवनमा जेनजी आन्दोलनले असह्य पीडा थोपरेको छ। बुढेसकालमा सहारा दिने एक मात्र छोरा गौरव जोशी आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएपछि उनीहरू आकाशमै टुङ्गिएको जीवनयात्रा बाँचिरहेका छन्।
गौरव जोशी धनगढीको ऐश्वर्य विद्या निकेतनबाट कक्षा १२ पास गरेर बेलायत पढ्न जाने तयारीमा थिए। भाषा कक्षामा भर्ना भइसकेका उनले भविष्यको सपना बुन्दै परिवारलाई गर्व दिने आशा जगाइरहेका थिए। तर, भदौ २३ गते सोमबार बिहान “कक्षामा जान्छु” भन्दै कोटेश्वरस्थित डेराबाट निस्किएका गौरव घर फर्किन पाएनन्। केही घण्टामै आन्दोलनको भिडमा परेर प्रहरीको गोली लाग्दा उनको जीवनको सपना त्यतै समाप्त भयो।
गोली लाग्नुभन्दा केही मिनेटअघि मात्रै उनले “नेताहरूले देश बर्बाद बनाएका छन्, माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन” भन्ने अभिव्यक्ति दिएका थिए। तर त्यो अभिव्यक्तिपछि छिट्टै उनको ज्यान लिने गोली लाग्यो।
परिवारलाई गौरवको मृत्युबारे तुरुन्तै भनिएको थिएन। मंगलबारसम्म आफन्तहरूले “चोट लागेको छ, उपचार हुँदैछ” भनेर सम्झाइरहेका थिए। साँझतिर मात्र हिम्मत गरेर असल समाचारलाई कालो खबरमा परिणत गरिएको थियो। त्यसपछि बुबा वासुदेव अचेत भएर ढले।
गौरवको निधनले केवल जोशी परिवारलाई मात्रै होइन, सिंगो तारानगरलाई शोकमा डुबाएको छ। उनका साथी, शिक्षक, गाउँभरिका मानिसहरू सबैले आँसु बगाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
सरकारले मृतकलाई सहिदको मान्यता र क्षतिपूर्ति दिने घोषणा गरिसके पनि वासुदेव–पत्नीको आँसु थामिएको छैन। जन्ती पठाउनुपर्ने उमेरमा मलामी जानुपर्ने बाध्यता, बुढेसकालको एक मात्र सहारा गुमाउनु परेको पीडाले उनीहरूलाई भताभुंग बनाइरहेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनमा मात्रै ७३ जनाको ज्यान गएको थियो, जसमा गौरव पनि थिए। अधिकांश युवाको टाउकोमै गोली लागेको तथ्याङ्कले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएको छ। “प्रहरीले घुँडामुनि गोली हान्नु पर्थ्यो, तर सीधै टाउकोमा हानियो,” शोकसन्तप्त वासुदेवले भने, “गौरव जस्तै धेरै आमाबुबा छोराछोरी गुमाएर कराउँदै छन्।”



कागजपत्र |
