
बडीमालीका मन्दिर दर्शन गर्न गएका लेखा अधिकृत पन्थीको निधन
काठमाडाैं – बडीमालीका मन्दिर दर्शनका लागि जाँदै गरेका एक जना लेखा अधिकृतको निधन भएको छ।
भैरहवा घर भइ राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थी मन्दिर दर्शनका लागि जाँदै गर्दा जंगलमा एकाएक अचेत भएका थिए।
लेखा अधिकृत पन्थी शनिबार बेलुका साढे ५ बजेतिर बाजुरा बडिमालीका नगरपालिका– ८ स्थित खारेको जंगलमा पुग्दा एक्कासि बेहोस भएका थिए। साथमा रहेका अन्य तीन जना सहकर्मीले उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए।
त्यहाँ पुर्याउनासाथ चेकजाँच पछि चिकित्सकले पन्थीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
बडिमालीका मन्दिर दर्शनका लागि पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका– ७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उपसचिव ३४ वर्षीय शिवहरी न्यौपाने, ओखलढुंगाको लिखु गाउँपालिका – ९ घर भइ सोही कार्यालयमा कार्यरत शाखा अधिकृत ३२ वर्षीय जीवन घिमिरे, पर्वत मोदी गाउँपालिका– ५ घर भई सोही कार्यालयमा कार्यरत लेखापाल ३५ वर्षीय उमेश शर्मा साथमा थिए।
उनीहरु तीन जनाले उद्धार गरि पन्थीलाई तत्कालै अस्पताल पुर्याएका थिए।



कागजपत्र |
