एमाले पंक्तिलाई विष्णु पौडेलको आग्रह- गल्ती स्वीकारेर जनतामाझ जाऔं


काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र भएका कमजोरी र गल्ती स्वीकार गर्दै जनतामाझ आत्मालोचक भएर जान एमाले पंक्तिलाई आग्रह गरेका छन् ।

तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी सन्देशमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई सही रूपमा आत्मसात् गर्दै गुमेको जनविश्वास पुनः प्राप्त गर्नुपर्ने बताएका हुन् ।

उनले नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा पुनः स्थापित गर्न दृढ सङ्कल्प आवश्यक रहेको उल्लेख गरेका छन् ।

“यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा पुगेको छ,” पौडेलले भनेका छन्, “हामी राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट सही रूपमा निर्देशित भयौँ वा भएनौँ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्न ढिलाइ भइसकेको छ ।”

उनले पार्टीले आफ्ना कमजोरीको समीक्षा गर्दै जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया