कोरला नाकाबाट १ लाख २० हजारभन्दा बढी भेप बरामद, तीन जना पक्राउ


मुस्ताङ — नेपाल–चीन सीमा नाका कोरलानास्थित लोमान्थाङ गाउँपालिका–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।

भन्सार कार्यालयले शनिबार भन्सार छलेर नेपाल भित्र्याउन खोजिएको ५९२ कार्टुन भेप नियन्त्रणमा लिएको हो । कोरलानाकाबाट शंकास्पद रूपमा ल्याइँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका दुई मालवाहक कन्टेनर जाँच गर्दा उक्त परिमाणमा भेप फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार ती कन्टेनर दुई दिनअघि चिनियाँ भन्सारबाट ‘लोड’ भएर नेपालतर्फ आएका थिए । शनिबार सार्वजनिक बिदाको दिन कर्मचारीहरू लोमान्थाङमा जारी तिजी पर्व हेर्न गएको मौका पारेर कन्टेनर भन्सार प्रक्रिया पूरा नगरी अघि बढाइएको थियो ।

गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले ती कन्टेनरलाई नियन्त्रणमा लिएको हो । स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा गरिएको प्रारम्भिक जाँचमा कन्टेनरभित्र ठूलो परिमाणमा भेप फेला परेको जनाइएको छ ।

भन्सार कार्यालयका अनुसार एउटा कार्टुनमा २२० वटा भेप रहेका छन् । सो आधारमा दुई कन्टेनरमा करिब एक लाख २० हजारभन्दा बढी भेप रहेको अनुमान गरिएको छ । हाल बरामद सामानको परिमाण र मूल्यांकनसहित भन्सार मुचुल्का तयार गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

घटनासँग सम्बन्धित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कन्टेनर चालक लामा र तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।

कोरलास्थित स्रोतका अनुसार ती कन्टेनर नेपाल–चीन सीमाको २४ नम्बर सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए । भन्सार कार्यालयले कन्टेनर लामो समयसम्म खाली नगरिएकाले निगरानी बढाएको थियो ।

स्रोतका अनुसार तस्करीमा संलग्न समूहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउन नक्कली कागजातसमेत तयार पारेको आशंका गरिएको छ ।

प्रतिक्रिया