
गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचसहित ६ बिरामी
गुल्मी – जंगली विषालु च्याउ सेवन गर्दा गुल्मीमा एकै परिवारका पाँच जना र एक छिमेकी गरी छ जना बिरामी परेका छन् ।
गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका रजाली परिवारका सदस्यले बुधबार बिहान खानाको समयमा च्याउ खाएपछि बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका अनुसार, बिरामीमा ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली, १० वर्षीय किरण रजाली तथा ३६ वर्षीया छिमेकी बविना रजाली छन् ।
उनीहरूको स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उपचार भइरहेको छ । हाल सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । च्याउ सेवनपछि वाकवाकी, टाउको दुख्ने र पखालाजस्ता लक्षण देखिएको थियो ।
जंगली च्याउ विषालु हुने भएकाले यसलाई तरकारीका रूपमा प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।



कागजपत्र |
